दमक।
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कठोर निर्णय नगर्न मधेसी मोर्चालाई आग्रह गर्नुभएको छ ।
आसन्न निर्वाचनमार्फत जनताको अधिकार गाउँ गाउँमा पुग्न लागेको भन्दै उहाँले चुनाव बहिष्कार नगर्न मधेसी मोर्चालाई आग्रह गर्नुभएको हो । उहाँले मोर्चा निर्वाचनमा आउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापाको दमकमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहनुभएका थापाले पछिल्लो चरणको वार्ताबाट मोर्चा सकारात्मक भएकाले निर्वाचनमा मोर्चासमेत सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “अहिले देश नै निर्वाचनमय भएको छ, अब नाकाबन्दी गरेर र बन्दुक बोकेर जङ्गल पसी जनतालाई दुःख दिने बेला छैन ।”
निर्वाचनबाट नै संविधान कार्यान्वयन हुनेमा जोड दिँदै अध्यक्ष थापाले निर्वाचनको वातावरण बनाउन नेकपा ९एमाले० र आन्दोलित मोर्चा दुवै लचिलो हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो – “मोर्चासँगै एमाले पनि लचिलो हुनुपर्छ, एमालेले जे कुरामा पनि हठ गर्नु हँुदैन ।” अध्यक्ष थापाले वैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा पनि नसर्ने दाबी गर्दै भन्नुभयो – “अब कुनै हालतमा निर्वाचन रोकिँदैन, मोर्चा पनि निर्वाचनमा आउनुको विकल्प छैन ।”
मोर्चा निर्वाचनमा सहभागी भएमा निर्वाचन दुई चरणमा हुन सक्ने पनि उहाँको भनाइ थियो । उहाँले तर निर्वाचन सर्दैन, मधेसी दलको तयारीका लागि केही स्थानमा निर्वाचन जेठभित्रै गर्नेगरी सार्न भने सकिन्छ ।” अब देशको भविष्य जनताको हातमा रहेको बताउँदै थापाले निर्वाचनलाई उपयोग गरेर जनताका हकअधिकारलाई स्थापित गराउनु पर्ने खाँचो रहेकोमा जोड दिनुभयो ।
सभामा पार्टी महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपाले हिन्दू राष्ट्रको माग गरेर अरु धर्मलाई उपेक्षा गर्न नखोजेको बताउनुभयो । उहाँले भन्नुभयो –“हामीले हिन्दू राष्ट्रको माग गरेर अरु धर्मलाई उपेक्षा गर्न खोजेको होइन, हामी सबै धर्मको सम्मान गर्छौं, तर सनातन धर्मको आधारमा नेपाल हिन्दू राष्ट्र नै हुनुपर्छ ।”
सभामा पार्टीका सहमहामन्त्री रामकुमार थापा, महिला नेत्री कोमल ओलीलगायतले बोल्नुभएको थियो ।