Aamsanchar

मुख्य जिम्वेवारीमा महिला पत्रकार

Author Image
सोमवार, वैशाख ११, २०७४

हिमा रसाईली,
सुरुङ्गा ।

पछिल्लो समय पत्रकारीता पेशामा महिलाको आकर्षण बढेको छ । झापामा ३०० को संख्यामा पत्रकार छन् । जसमध्ये १०० बढि महिला छन् । विद्युतीय ,छापा तथा अनलाइन सवै सञ्चार माध्यममा महिला पत्रकारहरुको आर्कषण उत्तिकै रहेको छ । झापामा अहिले ६७ ओटा सञ्चार माध्यमहरु रहेका छन् । जसमध्ये १० वटा दैनिक प्रत्रिका, १९वटा साप्ताहिक, चार वटा मासिक, १६ अनलाइन र १६ वटा रेडियो र दुई वटा टेलिभिजन सञ्चालनमा रहेको छन् ।

सञ्चारमाध्यमको विकाससंगै सञ्चारमाध्यममा महिलाको पहुँच पनि बढ्दै गएको छ । झापामा अधिकांश सञ्चारमाध्यममा महिला पत्रकारहरु पनि जिम्मेवार भूमिकामा छन् । विगत केही वर्ष अघिसम्म पत्रकारितामा औलामा गन्न सकिने महिला पत्रकारहरु झापामा रहेका थिए भने पछिल्लो समय महिलाको आकर्षण बढ्दै गएको महिला सञ्चारकर्मीहरुले बताएका छन् ।
झापामा महिला पत्रकारले जिम्मेवार भूमिका पनि निर्वाह गरिरहेको पाइएको छ । झापाबाट प्रकाशित दैनिक पत्रिका न्यू मेची टाईम्समा सुशिला संगौलाले सम्पादकको भूमिका निर्वाह गरिरहेकी छन् । त्यस्तै विद्युतीय सञ्चारमाध्यम अन्र्तगत रेडियो सनराइजमा सुस्मा राजवंशीले पनि सम्पादकको भूमिका निर्वाह गरिरहेको पाइएको छ । झापामा पहिलो महिला एमडीको रुपमा रेडियो विराटमा लीला अनमोलले जिम्मेवारी सम्हालेको पाइएको छ । साप्ताहिक पत्रिका अन्र्तगत झापाकै भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिकको सम्पादकको भूमिकामा माया पकुवाल रहेकी छन् ।

पछिल्लो समयमा प्रवेश गरेका युवा महिलाहरुले पनि कुशलता पूर्वक सम्पादकको भूमिका निर्वाह गरिरहेको पाइएको छ । समदर्शी मासिक पत्रिकामा सम्पादकको जिम्मेवारी अनिता भेटवाल, त्यस्तै एम. एम मेची ट्युन्समा पुर्णीमा फुयाँलले सम्पादकको जिम्मेवारी सम्हाली रहेको पाएको छ । जनआन्दोलनमा इन्दू पूर्वेली, रेजिना रोदन, कञ्चनजंघामा भीमा शिवाकोटी,नौलो आवाजमा सुभद्रा खड्का, निर्माण लहर साप्ताहिकमा गंगा बराल, यलम्बरमा लीला राई ,सूर्योदय टीभीमा चन्दा भट्टराई, हिमशिखरमा लक्ष्मी नेपाल, कमला श्रेष्ठ, गीता ढुंगाना, खबरमञ्चमा सिर्जना घिमिरे, कलमनेपाल डट कममा रचना उप्रेती पनि मुख्य भूमिकामा छन् । भारती राई टीभी पत्रकारकोृ रुपमा सक्रिय छिन् ।
महिलाहरुले पनि सञ्चारको क्षेत्रमा आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हाल्न सक्छन भन्ने उदाहरण झापाका महिला पत्रकारहरुले दिएका छन् । महिला पत्रकारको विषयमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका पत्रकार एकराज गिरी भन्छन्– विविध चुनौतिका बाबजुद महिला पत्रकारहरुले पुरुष पत्रकार सरह पत्रकारिता गरिरहेका छन् । यो झापाली पत्रकारितको लागी खुशीको कुरा हो । पूर्वाञ्चल दैनिकका सम्पादक समेत रहेका गिरीले महिलाहरुले आफ्नो पारिवारीक बन्धन तथा समाज सबैकुरालाई ख्याल गर्नु पर्ने बाध्यता रहेको बताउदै पुरुषभन्दा महिलाका पत्रकारका लागि समाचारको स्रोतमा पहँुच कम हुने गरेको बताए । महिलासंग लैगिंकता,भेट्ने स्थान र समयले पार्ने प्रभाव जस्ता कारणले गर्दा पनि समाचारको स्रोत कमै मात्रामा खुल्ने गरेको उनको भनाइ छ ।

पत्रकार महासंघले महिला पत्रकारलाई अगाडी ल्याउन तथा क्षमता विकासका लागी विभिन्न तालिम दिदैं आएको तथा तालिमलाई आगामी दिनमा पनि अगाडी बढाउने उपाध्यक्ष गिरीको भनाई छ । उनले महिलाहरुलाई पनि मिडियाहरुले विश्वास गरेर जिम्मेवारी दिनुपर्ने तथा उचित पारिश्रमिक दिनुपर्ने धारणा ब्यक्त गरेका छन् । समाचारमा संख्यात्मक मात्र नभई गुणत्मक कुरा दिन सक्नुपर्ने गिरी बताउछन् । उनले संसार नै इन्टरनेट र सुचना प्रविधिमा जोडिदै गएको अवस्थामा झापामा धेरै सञ्चारमाध्यम भएकाले सम्भावना राम्रो भएको तर महिलाले दक्षता, क्षमता र आफ्नो अध्ययनशिलतालाई अझ तिखार्नुपर्ने गिरीको सुझाव छ । गिरीले छोरी पत्रकारिता मात्र भएको भन्दै महिलाहरुले बिवाह गर्दा पनि आफ्नो पेशाको सम्मान गर्ने ब्यक्तिसंग विवाह गरेर पेशालाई निरन्तरता दिन सुझाव दिदै बुहारी पत्रकारिता पनि गर्नुपर्ने बताए ।

संघर्षबाट आफु सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेकी झापाकी पत्रकार माया पकुवाल भन्छिन्– आफुले पत्रकारिता सुरु गरेको अवस्था भन्दा अहिले महिलाका लागी धेरै अवसरकाबाटाहरु खुल्ला रहेको छ । पहिला सम्पादकहरुले महिलाको विषयलाई समाचारको रुपमा प्रथमिकतामा नराखेको तितो अनुभव सुनाउदै पकुवालले अहिले महिलालाई मिडियाहरुले विश्वास गर्न थालेको बताइन् । तर अझै पनि पुरुष झै महिलालाई मिडिया हाउसले अझै पनि समान ब्यवहार गर्न नसकेको गुनासो गरिन् । उनले सदस्यता वितरणमा पनि भेदभाव गर्ने गरेको दुखेसो पोखिन् ।
सरकारले पछिल्लो समय हरेक निकायमा महिलाको प्रतिनिधित्व अनिर्वाय गरे झैं हरेक सञ्चार माध्यमको नेतृत्व तहमा पनि एक जना महिला अनिर्वाय राख्नुपर्ने नियम बनाउन महिला पत्रकारले दबाब दिनुपर्ने विचार ब्यक्त गरिन् ।

लामो समय देखि पत्रकारीता क्षेत्रमा सक्रिय झापाकी अर्की महिला पत्रकार राष्ट्रिय समाचार समितिकी पत्रकार अम्बिका भण्डारीले पहिला भन्दा महिला पत्रकार केहि बढे पनि खुलेर यो क्षेत्रमा आउन नसकेको बताइन् । उनले महिलाहरु खुलेर आउन नसक्नुमा न्युन पारिश्रमिक साथै महिलालाई दोस्रो दर्जामा राखिनु मुख्य कारण भएको भण्डारीको भनाई छ ।

महिला पत्रकारको लागी सामाजिक सुरक्षा पनि अर्को समस्याको रुपमा रहेको भण्डारीले बताइन् । महिला पत्रकारलाई सुचना दिने कुरामा सम्बन्धित निकाय र व्यक्तिले आलटाल गर्ने गरेको गुनासो गरेकी छन् । यद्धपि विविध समस्याका बावजुत पनि पत्रकारीतामा महिलाको सम्भावन उच्च रहेको उनको भनाई छ । झापामा सय बढी महिला पत्रकारहरु यसको उदाहरण भएको उनको कथन थियो । महिलाहरुलाई कामको सहि मुल्यांकनका साथै प्रोत्साहन गर्न आवश्यक रहेको भण्डारीले बताइन् ।

त्यस्तै केही वर्षदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकार नरेन्द्र ढकालले महिला पत्रकारहरुले पनि आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्ने भन्दै महिला पत्रकारलाई पत्रकारितामा टिकि रहन सुरक्षाको दृष्किोणले पनि जोखिममा रहेको बताए । महिलाहरुले गर्भ अवस्थामा मिडिया हाउसले बिदा नदिदाँ आफ्नो पेशाबाट नै पालयन हुनुपर्ने बाध्यता समेत रहेको छ । उनले पत्रकारितामा पार्टी गत रुपमा गरिने पत्रकारिताको शिकार बन्नु परेको बताए ।

झापामा धेरै मियिडा तथा महिला पत्रकार भएपनि अझै पनि निर्णयक तहमा अवसर नदिनुले महिला पत्रकारलाई आगाडी बढ्न बाधा पुगेको उल्लेख गरे । उनले महिला पत्रकारहरुलाई दृढ् इच्च्छा शक्ति भएमा पत्रकारितामा महिला पत्रकारहरुलाई धेरै अवसरहरु रहेको ढकालले बताए ।

त्यस्तै ५ वर्षदेखि पत्रकारिता गरिरहेकी हाल आँगा एफ.एममा संलग्न महिला पत्रकार पुष्पा जवेगु (लिम्बु)ले सघर्ष गर्न चाहानेहरुका लागी पत्रकारितामा धेरै अवसर रहेको बताइन् । उनले महिला पत्रकारलाई विश्वास नै नगर्ने भएकाले यो क्षेत्रका टिक्न नै गाह्रो हुने अनुभव सुनाइन् । उनले आफुले रिर्पोटिङ गर्दाको अनुभवलाई यसरी ब्यक्त गरिन्–आयोजकहरुले महिला पत्रकारलाई विश्वास नगर्ने र बोल्नका लागी तथा विशेष सुचनाहरु दिनका लागी हिच्किचाउनृे गरेको छन् । उनले महिलाहरुको क्षमतालाई बाहिर ल्याउन मिडिया हाउसले खेल्नुपर्ने जति भूमिका नखेलेको गुनासो गरिन् । उनले यस क्षेत्रमा आउन चहाने महिला पत्रकारहरुलाई यही क्षेत्रमा लक्ष्य र दृढसंकल्पका साथ आउन सल्लाह दिएकी छन् ।

नेपालका संवैधानिक निकाय तथा विभिन्न अंगहरुमा महिलाहरुले नेतृत्व सम्हालिरहेका बेला झापामा पनि धेरै महिलाहरुले विभिन्न जिम्मेवारी सम्हालि रहेको पाइएको छ । तर अझै महिला पत्रकारहरुलाई मिडिया हाउसले विश्विास गर्न नसकेको अग्रज पत्रकारहरुको बुझाई रहेको छ । महिला पत्रकारले समय अनुकुल आफुलाई दक्ष र प्रभावारी रुपमा अगाडी बढाउन आवश्यक रहेको छ ।

Views: 265

प्रतिक्रिया (०)