Aamsanchar

रात्री बसमा लगेज बोक्दा प्रहरीको फन्दामा

Author Image
सोमवार, वैशाख ११, २०७४

झापा।

रात्री बसमा लगेज बोक्न नपाइने नियम छ । तर, झापाबाट काठमाडौं, पोखरा, नारायणगढ, वुटवल, भैरहवा लगायत लामो दूरीमा सञ्चालन हुने अधिकांश बसले ‘भब्बर लोड’सहितको लगेज लिएर जाने गरेका छन् ।
झापाको काँकरभिट्टाबाट आइतवार पोखराका लागि छुटेको ना५ख १८२७ नम्वरको रात्री बसमा हरियो तरकारी लोड गरेर बिर्तामोड आइपुगेपछि सो बसलाई स्थानीयवासी र ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर सामान झारेका थिए ।
काँकरभिट्टाबाट काठमाडौं, पोखरा, नारायणगढ लगायतका स्थानका लागि लागि छुटेका सवारीमा उखु, कुखुरा, तरकारी, कोला लगायतका साम्रगी लाने गरेको र रात्री बसमा लोड बढी भएका कारण दुर्घटनाको जोखिम बढेको भन्दै सवारी साधनको  छतमा लोड गरिएको साम्रगी झारिएको हो ।
गुडिरहेको सवारी टर्निङमा कोल्टने गरेको र रात्री बसमा लगेज बढी भएकै कारण पल्टिने समस्या देखिएपछि लगेज बोक्न नपाइने नियम बनाइए पनि नियमको खिल्ली उडाउँदै रात्री डिलक्स बसले लगेज बोक्ने गरेका छन् । लगेज बोक्ने सवारी साधनलाई एक पटक सामान झारिएको र पुनः अर्काेपटक लगेज बोके कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
काँकरभिट्टाबाट छुटेका बसलाई व्यवस्थापन गर्ने जिम्मा लिएको बस व्यवसायी संघले अनुगमन नगर्दा र ट्राफिक प्रहरीले समेत सो विषयमा ध्यान नदिँदा दिनहुँ बसको छतमा सामग्री लाने गरेको थियो ।
बसका एक सहचालकका अनुसार छतमा बोकिने साम्रगी व्यापारी तथा गाडी स्टाफ र समितिका कर्मचारीको मिलेमतोमा जाने गरेको छ । सह चालकका अनुसार प्रतिवोरा तीन सयदेखि चार सय रुपैयाँसम्ममा सामान लोड गरेर गन्तव्य पु¥याइने गरिएको छ । बसको छतमा प्रतिसवारी ३० देखि ४० वटा बोरा लोड हुने गरेको छ ।
बस व्यवसायी संघले आफ्ना मातहतका बुकिङ कर्मचारीलाई निगरानी नगर्दा समस्या बढेको एक व्यवसायीको भनाइ छ ।

Views: 69

प्रतिक्रिया (०)