Aamsanchar

अवैध सुन कारोबारमा संलग्न पाँच जना पक्राउ, सुन, सुन गाल्ने मेशिन र ५० लाख नगद पनि बरामद

Author Image
शुक्रवार, असार २१, २०८१

काठमाण्डौ – अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–१४ ताल्छिखेलमा निर्माणाधीन घरमा हिजो छापा मार्दा शङ्कास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी)एवम् प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट झन्डै १ सय ७० ग्राम सुन, २ सय ४६ ग्राम चाँदी, सुन गाल्ने मेशिन, डिजिटल तराजु र ५० लाख चार हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन् ।

छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २८ वर्षीय विभूतेसहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुर महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

प्रहरीले चेकबुक, बैंकमा नगद जम्मा गरेको भौचरसमेत बरामद गरेको छ । सुन गाल्ने मेशिन नै भेटिएकाले यस समूहले सङ्गठित रूपमा अवैध सुनको कारोबार गरेको प्रहरीको आशङ्का छ । पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइने एसपी सुवेदीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर