काठमाडौं :
भारतीय चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ। सांसदसमेत रहनुभएका खन्नाको ७० वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको हो। खन्ना लामो समयदेखि बिरामी पर्नुभएको थियो। उहाँले थुप्रै फिल्महरुमा अभिनय गर्नुभएको थियो।
गत अप्रिलदेखि सिकिस्त बिरामी पर्नुभएका खन्ना भारतीय जनता पार्टीको तर्फबाट सांसदसमेत बन्नुभएको थियो। एक सय ४० वटा भन्दा बढी फिल्मा अभिनय गरेका खन्ना पछिल्लो समय ब्लड क्यान्सरपीडित हुनुहुन्थ्यो। उहाँको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
सन् १९४६ मा जन्मिएका खन्ना बलिउडका सुपरस्टार हुनुहुन्थ्यो। खन्नाले सन् १९६८ मा ‘मन का मितु चलचित्रमार्फत बलिउडमा डेब्यु गर्नुभएको थियो। भिलेनको भूमिकामार्फत अभिनय सुरु गर्नुभएका खन्ना सुपरहिट अभिनेता बन्न सफल हुनुभयो।
सन् १९९८ देखि राजनीतिमा क्रियाशील खन्ना राजनीतिमा पनि सफल मानिनु हुन्थ्यो। उहाँ पञ्जावको गुरदासपुरबाट चार पटकसम्म सांसद निर्वाचित हुनुभएको थियो।
सन् २००३ मा अलट बिहारी बाजपेयीको प्रधानमन्त्री हुँदा उहाँ विदेश राज्यमन्त्रीसमेत बन्नुभएको थियो।-अन्नपूर्णबाट