Aamsanchar

म्यादी प्रहरी ट्राफिक ब्यवस्थापन र फुटपाथ हटाउने कार्यमा सक्रिय

Author Image
शुक्रवार, वैशाख १५, २०७४

झापा।

स्थानीय निकायको निर्वाचनको मिति सरेसँगै झापामा रहेका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा खटाउन थालिएको छ ।  वैशाख ३१ गते गर्ने भनिएको निर्वाचन प्रदेश नम्बर १मा जेठ ३१ गते गर्ने सरकारको निर्णयसँगै झापामा छनौट भएका म्यादी प्रहरीलाई ट्राफिक ब्यवस्थापन तथा फुटपाथ हटाउने कार्यमा खटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
तालिममा रहेका म्यादी प्रहरीलाई सामाजिक क्षेत्रमा पनि लगनशील तथा अनुभवी बनाउन बिर्तामोड क्षेत्रको ट्राफिक ब्यवस्थापन तथा फुटपाथ हटाउने कार्यमा बिहीबार दिउँसो खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी याम खड्काले बताए । उक्त कार्यमा एक सय जना म्यादी प्रहरी, अञ्चल प्रहरी कार्यालय मेचीबाट ७ प्रहरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले बिर्तामोड क्षेत्रलाई व्यवस्थित बनाउन खटेको बताइएको छ ।
झापामा दुई हजार एक सय १४ जना म्यादी प्रहरी रहेको र उनीहरुलाई सुरक्षा क्षेत्र अन्तर्गतकै काममा खटाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार काँकरभिट्टा, बिर्तामोड, दमक लगायतका स्थानमा म्यादी प्रहरीलाई प्रहरीले गर्ने सुरक्षात्मक कार्यमा संलग्न गराउन थालिएको बताए । झापामा १५ वटा इलाकामा रहेका म्यादी प्रहरीलाई चुनावी प्रयोजनका साथै अन्य विभिन्न क्षेत्रमा पनि खटाउन थालेको बताइएको छ ।
यता हातमा लठ्ठी लिएर सादा पोशाकमा रहेका म्यादीहरुले ट्राफिक ब्यवस्थापन र फुटपाथ खाली गराउन सहयोग गरेपछि बिर्तामोडमा रहेका फुटपाथे व्यापारी हटेका थिए । ट्राफिक प्रहरीले पटक–पटक सडक किनारमा रहेका पसललाई हटाए पनि व्यापारीले ट्राफिक प्रहरी तथा नगर प्रहरीलाई नटेर्दा विर्तामोडमा पैदल यात्रा गर्नेहरुलाई समस्या भएको छ ।
सडकमा व्यापारव्यवसाय गर्नेलाई हटाउन बिर्तामोडका राजनीतिक दलहरुले पटक–पटक प्रतिबद्धता जनाए पनि सहयोग नगर्दा बिर्तामोडमा ट्राफिक व्यवस्थापन तथा फुटपाथ अतिक्रमण हटाउन ट्राफिक प्रहरीलाई हैरानी भएको ट्राफिक प्रहरी निरीक्षक गिरीले बताए ।
बिर्तामोडको सवारी ब्यवस्थापन नहँुदा बिर्तामोडमा दैनिक सवारी चाप बढ्दै गएको छ भने दुर्घटना बढ्ने सम्भावना पनि उत्तिकै रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक गिरीले बिर्तामोडमा सवारी पार्किङको विषय आफूले निरन्तर उठाए पनि कतैबाट सहयोग नपाएको गुनासो समेत गरेका छन् ।

Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर