विराटनगर – विराटनगरको कोशी अस्पतालबाट भागेका कैदी पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए ।
उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचाररत अस्पतालबाटै भागेपछि प्रहरीले खोजी तीव्र पारेको थियो । अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् ।
उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो ।
अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । पक्राउ परेका कैदीका बारेमा थप अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनका अनुसार घटनाका सम्बन्धमा आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइनेछ ।