काठमाडौं।
आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ ।
यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशीताबीचको सम्बन्धलाई उजागर गरी मनाईंदै छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । नेपाल पत्रकार महासंघले काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रभात फेरि निकालेको छ ।

प्रभात फेरिपछिको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले नेपालमा अझै पनि प्रेस स्वतन्त्रता हनन्का घटनामा कमी नआएको भन्दै चिन्ता व्यक्त गरे । उनले पत्रकारहरुले स्वतन्त्ररुपमा कलम चलाउने अवस्था नरहेको भन्दै यसका लागि राज्य गम्भिर हुनुपर्ने बताए ।
एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हनन्का ७० वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाअनुसार सबैभन्दा बढी पत्रकारमाथिको दुव्र्यवहारका १६ वटा घटना भएका छन् । पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएको महासंघले जनाएको छ ।

त्यसैगरी पत्रकारमाथि धम्कीका सात वटा घटना भए भने सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका सात वटा घटना भएका छन् । केही समय सञ्चारमाध्यमको प्रकाशन प्रसारण बन्द गराइएका चार वटा, अवरोधको एउटा, सञ्चारगृहमा आक्रमणका दुई वटा र सञ्चारमाध्यममाथि धम्कीको एउटा घटना भएको महासंघले जनाएको छ ।


