Aamsanchar

कोशीका पूर्व मुख्यमन्त्री कार्कीले आजदेखि अनशन शुरु गर्ने

Author Image
मङ्गलवार, भदौ २५, २०८१

झापा- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन्।

आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की आमरण अनशन बस्ने भएका हुन्।

उनले गत आइतबार संससबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको ४८ घन्टे ध्यानाकर्षण पत्रको समय मंगलबार ४ बजेदेखि समाप्त हुने भएकाले घोषणाअनुसार आफू अनशन बस्न लागेको उनले बताए।

थाहाखबरसँग कुरा गर्दै उनले आज अपरान्ह ४ बजेदेखि अनशन सुरु गर्ने बताए। कार्कीले भने– ‘मेरो माग पूरा गर्न मुख्यमन्त्री उदाशीन देखिनुभयो। त्यसका लागि अहिले पनि म छलफलमै छु। चार बजेपछि अनशन सुरु गर्छु।’

उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका छन्। आफ्नो माग पूरा नभएसम्म प्राण त्याग्न पनि तयार रहेको, तर अनशनबाट पछि नहट्ने कार्कीको भनाइ छ ।

आफूले घोषणा गरेका कार्यक्रम जनमुखी भए पनि वर्तमान मुख्यमन्त्री कार्कीले नियतवश कटौती गरेको आरोप लगाउँदै उनले अनशन बस्ने चेतावनी दिँदै आएका थिए ।

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुमवासीलाई जग्गा खरिदमा अनुदान घोषणा, सगरमाथा दिवसलगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै आएका छन्।

तर, कोशी सरकारले भने पूर्वमुख्यमन्त्री कार्कीले घोषणा गरेका कार्यक्रम कुनै पनि कटौती नभएको र सबैले निरन्तरता पाइरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)