बिर्तामोड ।

मानव अपहरण तथा शरीर वन्धक अभियोगमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले हिरासतमा शारीरिक यातना दिएको दावी गरिएको छ ।
अपहरणमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार समेत रहेका तेजेन्द्र न्यौपानेले आफूहरुमाथि ‘टर्चर’ भएको दाबी गरेका हुन् ।
मंगलबार म्याद थपका लागि जिल्ला अदालत झापामा लगिएका वेला न्यायधिश बाबुकाजी बानियाँ समक्ष उनले आफूमाथि ‘टर्चर’ भएको बताएसंगै प्रहरी हिरासतमा उनीहरुलाई यातना दिएको रहस्य वाहिर आएको छ । न्यौपानेले न्यायाधिशलाई आफूलाई ‘टर्चर’ भएको बताएपछि ‘च्याम्बर’मा न्यौपानेको अवस्थाको बारेमा अवलोकन गरेपछि जाँचेर रिपोर्ट ल्याउन आदेश दिएका थिए । सोही वमोजिम जिल्ला प्रहरीले मंगलवार राति नौं बजे मेची अञ्चल अस्पताल पु¥याएर घाँउजाँच गराएको छ ।
मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षणका लागि वेलुकै लाने भनिएपनि प्रहरीले सञ्चारकर्मी र उनका आपन्तले थाहा पाउने भन्दै राति मात्र लगेको श्रोतले बतायो । यता प्रहरी हिरासतमा रहेका न्यौपानेले ‘मलाई मात्र होइन, अन्यलाई पनि चरम यातना दिइएको छ ।’ ‘अरुले भोलि झन् यातना दिन्छन् भनेर डराएर भन्न सकिरहेका छैनन् ’ न्यौपानेले न्यायाधिश समक्ष भनेका छन् ।
वुधबार मात्र मेडिकल रिपोर्ट
मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले न्यौपानेलाई स्वास्थ्य जाँचका लागि हस्पिटल ल्याएको बताएका छन् । उनले मंगलवार राति न्यौपानेलाई स्वास्थ्य जाँचका लागि ल्याएको बताए । डा ठाकुरका अनुसार इमर्जेन्सी वार्डका डा. सन्तोष कटवालले उनको स्वास्थ्य परीक्षण गरेका छन् । उनको स्वास्थ्य जाँचको रिपोर्ट वुधवार आएको छ ।
मानवअधिकार आयोगमा उजुरी
प्रहरीले हिरासतमा शारीरिक यातना दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरमा उनका आफन्तले उजुरी गरेका छन् । प्रेम स्टोर चन्द्रगढीका सञ्चालक भद्रपुर वर्डा नम्वर ७ निवासी प्रेम न्यौपानेलाई हिरासतमा राखी कुटपिट गरेको भन्दै उनकी श्रीमती पुष्पा निरौला न्यौपानेले आयोग समक्ष उजुरी गरेकी हुन् । न्यौपानेलाई प्रहरीले चैत २७ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई प्रहरीले यातना दिएको भन्दै उनकी श्रीमती पुष्पाले हिरासतमा यातना दिनेलाई आवश्यक कारवाहीका लागि अनुरोध गरेकी छिन् । यता राष्ट्रिय मानवअधिकार आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरका निर्देशक झङ्कर रावलले हिसासतमा अभियुक्तलाई यातना दिइएको बारेमा निवेदन परेको बताएका छन् ।
उनले वुधवार आयोगमा निवेदन परेको बताए । निवेदन परेसंगै आफूहरुले घटनाका विषयमा अनुसन्धान सुरु गरेका छौं भनेका छन् । ‘अदालतमा विचाराधिन रहेको विषयको बारेमा हामीसँग कुनै सम्बन्ध रहँदैन । तर, हिरासतमा अभियुक्तमाथि यातना दिन भने पाइदैन यदि त्यस्तो हो भने त्यो गलत हो’, उनले भने ।
न्यौपानेको खुट्टामा चोट
प्रहरी हिरासतमा रहेका न्यौपानेको खुट्टामा चोट देखिएको छ । उनको औलामा चोट छ । ‘१० दिन अगाडि प्रहरीले धेरै यातना दिएका कारण न्यौपानेको खुट्टामा चोट लागेको श्रोतले बताएको छ ।

यातना दिएको छैन –प्रहरी
जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले हिरासतमा रहेका उनीहरुमाथि कुनै यातना नभएके बताएका छन् ।
उनले आमसञ्चारसंगको टेलिफोन सम्पर्कमा भने– ‘हामीले मानव अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाएको थियौं ।
यो मुद्दा २५ दिनसम्म अनुसन्धानपछि मुद्दा बुझाइन्छ भन्ने थियो । तर, हामीले अनुसन्धान पूरा भइनसकेकोले संगठित अपराध ऐन अन्र्तगत मुद्दा चलायौं । र, मुद्दा ६० दिन थप लम्बिने भयो । त्यही भएर यातना दिनको दावी गरिएको हुन सक्छ ।’ हामीले उनीहरुलाई कुनै यातना दिएका छैनौं प्रहरी उपरीक्षक क्षोत्रीले भने ।
यातना दिएको मैलेपनि सुने – प्रजिअ
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले प्रहरी हिरासतमा रहेका उनीहरुलाई यातना दिएको आफूले पनि सुनेको बताएका छन् । उनले पूर्वाञ्चल कर्मीससंको कुराकानीमा उनीहरुलाई प्रहरीले यातना दिएको हल्ला आफूले पनि सुनेको र वुझ्दा त्यस्तो नपाएको बताए । उनले भने–यो विषयमा एसपीलाई तपाईपनि वुझ्न सक्नुहुन्छ ।’ उनीहरुलाई यातना दिएको छैन ।
प्रहरीले घटना संलग्न भएको भन्दै कांग्रेस कार्यकर्र्ता मेचीनगर–६ निवासी ४२ वर्षीय भूपू कान्छा नामले चिनिने भूपू राई, भद्रपुर–७ का ४३ वर्षीय तेजेन्द्र न्यौपाने, भद्रपुर–६ का ४० वर्षीय प्रेम न्यौपाने, मेचीनगर–४ का ४४ वर्षीय राजु कुँवर र भद्रपुर–७ का उत्तम कोइरालालाई पक्राउ गरेको थियो ।
बिर्तामोडमा रहेको कित्ता नम्बर १६९ र १७० को लगभग ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरी हडप्न खोजेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

