Aamsanchar

परराष्ट्रमन्त्री डा.आरजु राणा र क्यानडाली समकक्षी मेलानी जोलीबीच ओटावामा भेटवार्ता

Author Image
बिहिवार, असोज ३, २०८१

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र उनकी क्यानडाली समकक्षी मेलानी जोलीबीच बुधबार ओटावामा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै लगानी एवं साझेदारी प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो । ओटावास्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्याएको सहयोगको सराहना गरिन् । नेपालको संसद्ले हालै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको र त्यसबाट शान्ति प्रक्रियासम्बन्धी बाँकी काम पूरा गर्न सहज हुने उनले जानकारी दिइन् ।

भूकम्प र कोभिड महामारीको जटिल परिस्थितिका साथै नेपालको सामाजिक–आर्थिक उन्नयनमा क्यानडा सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्रीले नेपालमा आफ्नो राजदूतावास स्थापनाका लागि आग्रह गरिन् । एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि पनि फलदायी हुने मन्त्री राणाले बताइन् ।

अतिकम विकसित राष्ट्र नेपालका उत्पादनलाई क्यानडाले कर छुट दिएको सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेको आफ्नो देशलाई व्यापार वृद्धि र लगानीका माध्यमबाट सघाउन मन्त्री राणाले आग्रह गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । साथै जलविद्युतका क्षेत्रमा क्यानडाको अनुभव र विज्ञता नेपालको जलस्रोतमा लगानी गरेर अधिक लाभ लिन आग्रह गरिन् ।

नेपाल र क्यानडाबीच धेरै अन्तर्राष्ट्रिय विषयमा समान धारणा रहेको, बहुपक्षीयताका साथै संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ भएका काम, जलवायु परिवर्तन तथा दिगो विकासका लक्ष्य प्राप्तिमा दुवै देशले सहकार्य गर्दै आएको उनको भनाइ थियो ।

परराष्ट्रमन्त्रीले नेपालका दुई हजार ५५४ जना महिला शान्ति सैन्यले राष्ट्रसंघको विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा सेवा गरिसकेका तथा हाल ६०८ जना महिला रहेका शान्तिसेनामा कार्यरत रहेका जानकारी दिए । उनले विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरे ।

आगामी डिसेम्बरमा काठमाडौंमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार निर्धारण गर्ने सहमति भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर