काठमाडौंः

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अहिले भेटवार्ता भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भइरहेको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिनुभयो।
दुई नेताबीच जारी भेटमा सर्वोच्च अदालतले दिएको पछिल्लो अन्तरिम आदेशबारे छलफल भइरहेको स्रोतले जनाएको छ।
सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उनीविरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्चले शुक्रबार महाअभियोग प्रस्ताव अघि नबढाउन अन्तरिम आदेश दिएपछि दुई नेताबीच भेट भएको हो।

न्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबार अपरान्ह प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्काउन र महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा अन्तरिम आदेश दिनु भएको छ।
न्यायाधीश जबराको एकल इजलाशले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव शक्ति पृथकीकरण विपरीत रहेको भन्दै महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा अन्तरिम आदेशसमेत दिनु भएको थियो।



