काठमाडौं,

रोजगारी लागि विभिन्न देश पुगेका ३१ जना नेपालीलाई मृत्युदण्डको सजाय हुन सक्ने विदेशस्थित नेपाली नियोगहरुले जनाएका छन् । उनीहरु मध्ये १७ जनालाई अदालतले मृत्युदण्डको सजाय हुने फैसला सुनाइ सकेको छ । अन्य १४ जनालाई मृत्युदण्ड हुन सक्ने बताइएको छ । मृत्युदण्डको सजाय पाएकाहरुले जस्तै अभियोग ती १४ जनालाई पनि लागेको छ ।

प्रधानमन्त्री कार्यालयले विदेशस्थित नेपाली कुटनीतिक नियोगसित समन्वय गरेर विदेशमा मृत्युदण्ड र जन्मकैदको सजाय काटिरहेका नेपाली कामदारको तथ्याङ्क संकलन गरेको हो । मृत्युदण्ड र जन्मकैदको सजाय तोकिएका सबैजना रोजगारीका लागि त्यहाँ पुगेका हुन् ।
२२ जनालाई जन्मकैदको सजाय हुने फैसला अदालतले सुनाएको छ । अन्य दुई जनालाई जन्मकैद हुन सक्ने नियोगहरुले जनाएका छन् । ती दुईलाई जन्मकैदको सजाय भोगीरहेकालाई जस्तै अभियोग लागेको छ ।

हत्या, सडक दुर्घटना र लागु औषधको कारोबार गरेको अभियोग लागेकाहरुलाई अदालतले मृत्युदण्ड र जन्मकैदको फैसला सुनाएको हो ।
३० करोड रुपैयाँ ब्लड मनी र जरिवाना तिर्न सके केहीलाई स्वदेश फर्काउन सकिने
विदेश स्थित नेपाली दूतावास र अन्य नियोगहरुले झण्डै ३० करोड रुपैयाँ बराबर ब्लड मनी र जरिवाना तिर्न सके मृत्युदण्ड र जन्मकैद काटिरहेका कतिपयलाई नेपालीलाई स्वदेश फर्काउन सकिने जनाएका छन् ।
जरिवाना वापतको रकम तिर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक रहेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ सुशिल ढुंगानाले बताउनु भयो ।
‘विभिन्न अभियोग लागेर विदेशमा जेल सजाय भोगिरहेका नेपालीलाई फर्काउन आवश्यक पर्न सक्ने रकम सहित उहाँको तहबाट गर्न सकिने पहल गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’ उहाँले भन्नुभयो ।
मृत्युदण्ड, जन्मकैद र सामान्य अभियोगमा जेल सजाय काटिरहेका नागरिकलाई समेत स्वदेश फर्काउने विषयमा सम्बन्धित गन्तव्य मुलुकका सरकारसँग आग्रह गर्नका लागि तयारी चलिरहेको पनि ढुंगानाले जानकारी दिनुभयो । कुटनीतिक निकायहरुबाट जेलमा कामदारको विस्तृत विवरण आइसकेको उहाँले बताउनुभयो ।
तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाइएका सजायहरु पुनरावेदन हुन सक्ने छन् । यसअघि मृत्युदण्डको फैसला सुनाइएका तीन जनाको सजाय जन्मकैदमा परिणत गरिएको थियो ।
साउदीदेखि कोरियाका जेलमा नेपाली
विदेशस्थित नेपाली नियोगहरुका अनुसार दुई सय १९ जना पुरुष र १२ जना महिला विदेशका विभिन्न जेलमा छन् । सबैभन्दा बढी नेपाली साउदीका जेलमा छन् ।
त्यसपछि धेरै नेपाली कुवेत, कतार, युएई र मलेसियाका जेलमा छन् । दक्षिण कोरियामा दुई र इजरायलको जेलमा एक जना नेपाली छन् ।
यसैबिच, प्रधानमन्त्री कार्यालयको पहलमा तीन सय भन्दा धेरै विदेशमा आपतमा परेका नेपालीलाई नेपाल फर्काइएको छ ।
फर्काइएका मध्ये केही अवैधानिक रुपमा गएका र सरकारले अनुमति नदिएका देशहरुमा गएर अलपत्र पर्नेहरु पनि छन् । विदेशमा मृत्युवरण गरेका २० जनाको शव पनि कार्यालयको पहलमा नेपाल ल्याइएको छ ।-रीतु थेबे/उज्यालो ।

