बिर्तामोड।

झापाको बिर्तामोडलाई व्यवस्थित गर्न पटक–पटक प्रतिबद्धता जनाएका राजनीतिक दल तथा अगुवाहरुले पुनः एकपटक उक्त प्रतिबद्धता दोहो¥याएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अग्रसरतामा बिर्तामोडलाई व्यवस्थित गर्न आयोजना गरेको छलफलमा उनीहरुले त्यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । छलफलमा बिर्तामोडस्थित पूर्वमा सुगम पेट्रोल पम्पदेखि पश्चिम अञ्जली अस्पतालसम्मको ८२ फिट सडकको एरिया तत्काल खाली गरेर सवारी आवागमन तथा फुटपाथ ब्यवस्थापनलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि सडक विभाग दमकलाई सडक, विद्युत् कार्यालय विर्तामोड, टेलिकम बिर्तामोडलाई सडक क्षेत्रभित्र रहेका पोल तथा टेलिकमका तार हटाउन आग्रह गरिएको छ ।
छलफलमा सहभागीहरुले फुटपाथ ब्यवस्थापन मुख्य चुनौति बनेको भन्दै विर्तामोड नगरपालिकाले यो विषयमा चासो नदिएको आरोप लगाएका थिए । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले ट्राफिक प्रहरीले पटक–पटक बिर्तामोडको समस्या राखे पनि यहाँका सरोकारवाला निकायले चासो नदिएको गुनासो गरे ।
उनले प्रतिबद्धता जनाउने तर कार्यान्वयनमा भने चासो नदिने गरेको भन्दै खोक्रो प्रतिबद्धताले मात्र बिर्तामोडलाई व्यवस्थित गर्न नसकिने बताए । उनले सबै एकजुट भए मात्र बिर्तामोडको फुटपाथ व्यवस्थापन, सवारी पार्किङ, फोहोर व्यवस्थापन लगायतका काम गर्न सकिने धारणा राखेका थिए ।
छलफलमा सहभागीहरुले विर्तामोडको फुटपाथ र फोहोरसँगै सवारी पार्किङ मुख्य चुनौतिको विषय बनेको बताएका थिए । राजनीतिक दलका स्थानीय नेता तथा सरोकारबाला निकायले पार्किङ व्यवस्थापनलाई जेठ १ गतेबाट कडाइका साथ पालना गर्न लगाउने निर्णय गरेका छन् । मुक्तिचोकबाट ५०० मिटर चारै तिर सवारी पार्किङलाई व्यवस्थित गरिने निर्णय भएको बताइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका रामलाल उप्रेती, एमालेका ज्ञानु प्रसाई, नगेन्द्र संग्रौला, राप्रपाका शंकर रिजाल, फोरम लोकतान्त्रिक नेपालका रामु सिंह, राष्ट्रिय जनता पार्टीका डोमालाल राजवंशी, बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्की, मेघराज बास्तोला, उद्योग वाणिज्यसंघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, अरुण श्रेष्ठ, नारायण कुमार श्रेष्ठ, सोमनाथ खनाल, विष्णुप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो ।
छलफल हुन्छ काम हुन्न्
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आए लगत्तै झाडु र खरेटो लिएर सडक सफा गर्न ओर्लिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले सरसफाई अभियानलाई निरन्तरता दिए पनि उक्त कार्यमा बिर्तामोडबासीले नै सहयोग नगरेको पाइएको छ ।
बिर्तामोडलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीकै पहलमा पटक–पटक छलफल गरेको र राजनीतिक दलहरु तथा सरोकारबाला निकायले प्रतिबद्धता जाहेर गरेको भए पनि प्रतिबद्धताहरु कागजमा नै सीमित भएको छ ।
पार्किङ अस्तव्यस्त
बिर्तामोडमा अत्याधुनिक सुविधा सम्पन्न भवन बनाए पनि पार्किङको व्यवस्था नगर्दा सवारी व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । हनुमान सेन्ट्रलले नगरविकास समितिमा नक्सा पास गर्दा भूइँ तलामा पार्किङ गर्ने उल्लेख गरिए पनि सडक किनारसम्म सवारी राखिने हँुदा सवारी व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै बिर्तामोडका अन्य सबै स्थानमा जथाभाबी रुपमा सवारी पार्किङ गरिने गरेकाले बिर्तामोडको पार्किङ व्यवस्था अस्तव्यस्त रहेको प्रहरी निरीक्षक गिरीले बताए ।
खोलामा नै फोहोर
बिर्तामोडलाई सुन्दर र व्यवस्थित गर्दै सफा बनाउने विभिन्न संघसंस्था तथा सरोकारबाला निकायले बिर्तामोडको बीच भागबाट बग्ने अन्धुवा खोलामा फोहोर फ्याल्न नपाउने तथा भएका फोहोर सफा गरेर खोलालाई स्वच्छ बनाउने बताए पनि फोहोर फ्याल्ने क्रम रोकिएको छैन ।
अधिकांश व्यापारीहरुले बेलुका तथा रातको समयमा खोलामा फोहोर फ्याल्ने गरेको स्रोतले जानकारी दिएको छ । नारामा सफा गर्ने भन्ने तर व्यवहारमा कुनै पनि परिर्वतन नगर्ने बानीले विर्तामोड सबै क्षेत्रमा अव्यवस्थित बन्दै गएको स्थानीयको आरोप छ ।

