Aamsanchar

कोशीका सभामुख र उपसभामुखका लागि इन्धनको सुविधा थप

Author Image
मङ्गलवार, असोज ८, २०८१

विराटनगर – कोशी प्रदेशका सभामुख र उपसभामुखका लागि इन्धनको सुविधा थप गरिएको छ। विगतमा पाउँदै आएको भन्दा धेरै इन्धन दिन थालिएको हो।
कोशी प्रदेश सरकारले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि मासिक ५० लिटर इन्धन सुविधा थप गरेको छ। प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा सभामुखले मासिक १ सय ५० र उपसभामुखले १ सय २५ लिटर इन्धन पाउने प्रावधान थियो।

 

अनुसूची संशोधनपछि अब सभामुखले २ सय २५ लिटर र उपभामुखले १ सय ७५ लिटर इन्धन सुविधा प्राप्त गर्नेछन्। बाहिर छलफल नगरिकन मन्त्रिपरिषद् बैठकमार्फत इन्धन सुविधा थप गरिएको हो।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा २० का आधारमा मन्त्रिपरिषद् बैठकले सुविधा थप गरेको थियो। दफा २० मा ‘प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूची हेरफेर गर्न सक्ने’ प्रावधान छ।

सभामुख र उपसभामुखका लागि इन्धन सुविधा थप्ने निर्णय भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो। त्यसलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मिति राखेर राजपत्रमा सूचना प्रकाशित गरेको थियो।

कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट सभामुख र नेकपा (एमाले)की सिर्जना दनुवार उपसभामुख छन्। सभामुखले मासिक ६२ हजार ५ सय ४० र उपसभामुखले ५९ हजार पारिश्रमिक पाउँछन्।

सभामुखले २ जना स्वकीय सचिव, १ जना सूचना प्रविधि, २ जना कार्यालय सहयोगी र १ जना हलुका सवारी चालक गरी ६ जना सहयोगी राख्न पाउँछन्। त्यस्तै उपसभामुखले सचिवालयमा ३ जनालाई राख्न पाउने व्यवस्था छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)