झापा।
कुमार लिङ्देनसँग असहमति जनाउँदै बनेको नयाँ पार्टी संघीय लिम्बुवान पार्टी नेपाल फेरि पनि फुटेको छ । संगठन बिस्तार तथा सदस्यता बितरण गर्दै गरेको फोटो दिनहँु सामाजिक सञ्जालमा हाल्दै आएका पार्टीका महासचिब प्रेमदीप थाम्सुहाङलाई नै पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वा र अर्का महासचिब सूर्य माखिमले कार्वाही गरेको सार्वजनिक गरेपछि तत्काल बहुमतसहित बसेको बैठकले थाम्सुहाङको कार्वाही खारेज गर्दै उल्टै अध्यक्ष पालुङ्वा र महासचिब माखिमलाई नै पार्टीबाट बर्खास्त गरेको छ ।
शनिबार दमकमा बसेको बहुमतसहितको केन्द्रीय समिति बैठकले थाम्सुहाङलाई कार्वाही नभएको र अध्यक्षले बिधानको धज्जी उडाएको र त्यसमा महासचिब माखिमले सहयोग गरेको आरोप लगाएको छ ।
अध्यक्षलाई ५ महिनाको निलम्बन र माखिमलाई सबै पदबाट मुक्त गरिएको सह–अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए । अध्यक्षलाई १३ वटा बुँदामा गम्भीर आरोप लगाउँदै अक्षम भनेर औंल्याइएको छ । कार्वाहीको मुख्य बँुदामा भनिएको छ– ‘विभिन्न कारण र प्रमाणले पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा पार्टी अध्यक्षको रुपमा जिम्मेवारी बहन गर्न पार्टी विधानको धारा ४५ (क) अनुसार अक्षम भएको प्रमाणित हुन्छ । यसर्थ, यो पूर्ण बैठकले विधानको धारा ४५ (क) र (ख) अनुसार ६ महिना पदबाट निलम्बन गर्ने निर्णय सर्वसम्मतिले गरिएको छ ।
पार्टी अध्यक्ष पालुङ्वाको मतियार तथा कारिन्दा बनी पार्टीको विधि, विधान, पार्टी निर्णय विपरति तथा अनुशासनहीन कार्यमा प्रत्यक्ष सहयोग गरेको र पार्टीलाई ध्वस्त पार्न घृणित कार्य गरेकाले महासचिव सूर्यबहादुर माखिम समेतलाई यो पूर्ण बैठकले विधानको धारा ४५ अनुसार संघीय लिम्बुवान पार्टी, नेपालको महासचिव पदबाट पदमुक्त गरिएको जनाइएको छ । २०७३ असोज ४ गतेदेखि ८ गतेसम्म दमकमा लिम्बुवान एकताको प्रथम महाधिवेशन सम्पन्न गरेको भनिँदै आएको थियो । महाधिवेशनबाट सञ्जुहाङ पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरिएको थियो ।
बैठकपछि जारी बिज्ञप्तिमा पालुङ्वामा पुरानै चिन्तन र नेतृत्वशैलीमा कुनै परिवर्तन नदेखिएको, समय र परिस्थिति अनुसार रुपान्तरण हुन नसक्ने नेतृत्व वर्गबाट लिम्बुवानको मुक्ति त के पार्टी संस्थागतसम्म नहुने निश्चित हुँदै गएकाले कार्वाही गरिएको भनिएको छ । अध्यक्षले गर्दै आएको कामको जिम्मेवारी सह–अध्यक्ष खगेन्द्र माखिमले पाएका छन् । सूर्य माखिमको जिम्मेवारी कार्वाही गरिएका भनिएका प्रेमदीप थाम्सुहाङले लिएका छन् ।