Aamsanchar

मन्त्री लामिछानेद्वारा कान्ति लोकपथको अवस्थाका बारेमा निरीक्षण

Author Image
मङ्गलवार, असोज १५, २०८१

हेटौँडा-बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेसहितको टोलीले बाढीपहिराले क्षतिग्रस्त हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथको अवस्थाको बारेमा निरीक्षण गर्नुभएको छ ।

प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनसहित गत बिहीबारबाट अविरल वर्षासँगै आएको बाढी पहिरोले क्षति पुर्‍याएपछिको कान्ति लोकपथको पछिल्लो अवस्थाको बारेमा स्थलगत अवलोकनका लागि पुग्नुभएका मन्त्री लामिछानेले धेरै स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको जानकारी दिनुभयो ।

 

उहाँले हेटौँडाबाट भीमफेदी गाउँपालिका ८ स्थित ललितपुर जिल्लालाई जोड्ने बागमती पुल नजिकसम्म जसोतसो पुगेको भन्दै डेढ दर्जन स्थानमा पहिरो झरेको र पहिरो झरेको जोखिमपूर्ण दुई–तीन स्थानमा नेपाली सेनाले काम गरिरहेको बताउनुभयो ।

उहाँले सडकमा बढी क्षति भएकाले र सडकको अवस्था हेर्दा तत्काल सडक सञ्चालनमा सकिने अवस्था नरहेको सुनाउनुभयो ।

‘‘बागमती पुलको मकवानपुरतर्फका पहुँचमार्गसमेत बगाएको छ, पुलसम्म पुग्न ठुलो खोच पुर्नै समस्या देखिन्छ, खोलाले साविकको ठाउँ परिवर्तन गरी बाढी आएको छ, बागमती पुल नजिकैको सडकको संरचना पनि बगाएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘केन्द्रबाट प्राविधिकसहितको टोली आएपछि मात्र सडक सञ्चालनको उपाय निकाल्न सकिन्छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘बेलिब्रिज हाल्ने सम्भावना पनि देखिदैन, डाइभर्सनमा खोच परेका कारण उस्तै समस्या छ, ललितपुरबाट बागमती पुलसम्म समस्या छैन तर हेटौँडातर्फबाट तत्काल सञ्चालनमा समस्या देखिन्छ ।’’

 

उहाँका अनुसार पुल नजिकै रहेको दुई वटा घर, निर्माण सामग्री, सडक कार्यालयको उपकरण, द्रुत मार्गको बेलिब्रिजसँगै मकवानपुर र ललितपुर जोड्ने झोलुङ्गे पुलसमेत बाढी पहिरोले बगाएको छ ।

कान्ति लोकपथ निरीक्षणमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालसहित सुरक्षा निकायका पदाधिकारीहरु जानुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर