बिर्तामोड।

पछिल्लो समय पत्रकार आचारसंहिताको उल्लंघन बढ्दै गएको सम्बन्धित क्षेत्रका जानकारहरुले औंल्याएका छन् । दोस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतवार बिर्तामोडमा भएको पत्रकार आचारसंहिता अन्तरक्रियाका वक्ताले आचारसंहिता पालनामा सबै इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघकी केन्द्रीय सचिव संगीता खड्काले आचारसंहिता पालना गरे मात्र पत्रकारिताको मूल्य, मान्यता र गरिमा उच्च हुने बताइन् । प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत रहमतुल्लाह मियाँले सत्य, वस्तुनिष्ठ र सन्तुलित समाचार सम्प्रेषणमा जोड दिए । सञ्चारमाध्यमबाट आचारसंहिता उल्लंघन भएका विषयमा काउन्सिलमा उजुरी बढ्दो मात्रामा रहेको बताउँदै मियाँले भने– ‘पत्रकारितामा वस्तुनिष्ठ, सत्यतथ्य र सन्तुलित समाचार सम्प्रेषणको अभाव छ ।’ उनले आचारसंहिता नैतिक पाठ सिकाउने माध्यम र काउन्सिलिङ निकाय मात्र भएको बताउँदै नैतिक मूल्य मान्यतालाई पालना गर्नुपर्नेमा जोड दिए ।
सञ्चारमाध्यमले राजनीतिक पूर्वाग्रहको आधारमा समाचार सम्प्रेषण गर्ने, समाचारमा पक्षहरुको भनाइ नराखी असन्तुलित सामग्री सम्प्रेषण गर्ने, विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापन बनाउने, एउटा सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन अर्को सञ्चारमाध्यमले गर्ने, खण्डन गराउन विभिन्न पक्षलाई सञ्चारकर्मीले नै उकास्ने जस्ता प्रबृत्ति पछिल्लो समय पत्रकारिता क्षेत्रमा बढेको कार्यक्रममा आंैल्याइयो । महिलाका विषयमा सामग्री सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा समेत जोड दिइएको छ । महिलाबारे चरित्र हत्या हुने गरी समाचार आउँदा सम्बन्ध विच्छेदको अवस्था समेत निम्तिएको काउन्सिलका अनुगमन अधिकृत मियाँको भनाइ छ ।
त्यस्तै विभत्स तस्वीर प्रकाशन प्रशारण गर्ने, कसैको चरित्र हत्या हुने गरी सञ्चारकर्मीले सामुहिक रुपमै समाचार सम्प्रेषण गर्ने त कुनै समाचार सामुहिक रुपमै लुकाउने प्रबृत्ति पनि बढेको कार्यक्रममा बताइयो । त्यस्तै समाचार कपीपेस्ट गर्ने प्रबृत्ति, भाषाले निम्त्याएका समस्या, सेल्फसेन्सरसिपको अवस्था, दलको प्रचारमा सञ्चारकर्मी र सञ्चारमाध्यम अग्रसर हुने, सामाजिक सञ्जालमा सञ्चारकर्मी र पत्रकारिता पेशाको गरिमा खस्कने गरी स्टाट्स तथा कमेन्ट गर्ने प्रबृत्तिले पनि पत्रकारिताको मूल्यमान्यता र आचारसंहितामा चुनौति थपेको सो अवसरमा बताइयो ।

‘सञ्चारकर्मी र सञ्चारमाध्यमले पेशागत मर्यादा र आत्मसम्मानलाई ध्यान दिनुपर्छ’– काउन्सिलका अनुगमन अधिकृत मियाँ भन्छन्– ‘पीडितको उजुरीको आधारमा सम्बन्धित सञ्चारमाध्यमको ध्यानाकर्षण गराउँदा काउन्सिललाई समेत कतिपय सञ्चारमाध्यमले वेवास्ता र अटेर गरेका छन् ।’ आचारसंहिता उल्लंघन गर्ने र काउन्सिलको निर्देशन नमान्ने सञ्चारमाध्यमलाई वर्गीकरणमा रोकी सरकारी सेवा सुविधाबाट बञ्चित गर्नुका साथै सञ्चारकर्मीलाई प्रेस प्रतिनिधिपत्र, महासंघ लगायतका संस्थाको सदस्यता खारेजीको सिफारिस गर्न सकिने मियाँले बताए ।
काउन्सिलले अहिले देशव्यापी रुपमा पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ । पत्रकार महासंघसहितको काउन्सिलको कार्यदलले ०७३ भदौ २०मा पारित गरेको आचारसंहिता भदौ २२ गते काउन्सिलले स्वीकृति गरेपछि लागू भएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष एकराज गिरीले धन्यवाद ज्ञापनसहित समापन गरेका थिए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, प्रेस युनियनका झापा अध्यक्ष कृष्ण हुमागाँई, प्रेस चौतारीकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, फोनिजका जिल्ला अध्यक्ष गणेशमान मुखिया लगायतले शुभकामनासहित आफ्नो धारणा राखेका थिए ।
आचारसंहिता बारे पत्रकारहरुबीच खुल्ला छलफल समेत भएको थियो । छलफलमा उठेका जिज्ञासा र सुझावको टिपोट महासंघका कार्यसमिति सदस्य रञ्जित प्रसाईंले गरेका थिए भने त्यसको जवाफ प्रमुख अतिथि समेत रहेकी महासंघकी केन्द्रीय सचिव खड्काले दिएकी थिइन् । कार्यक्रमको सञ्चालन महासंघका सचिव सन्तोष आचार्यले गरेका थिए । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ झापाको संयोजनमा उक्त कार्यक्रम भएको हो ।

