Aamsanchar

केराबारीवासीको खानेपानी समस्या समाधान हुने

Author Image
बुधवार, असोज १६, २०८१

उर्लाबारी-वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारले केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि वर्षौंदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीवासीको समस्या समाधान हुने भएको हो । एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययन सम्पन्न भएपछि आयोजना सञ्चालन गर्ने सरकारी निकाय सहरी खानेपानी आयोजनाको क्षेत्रीय कार्यालय इटहरीले केराबारी गाउँपालिकामा केराबारी सहरी खानेपानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ ।

केराबारी सहरी खानेपानी आयोजन सञ्चालन गर्न एक अर्ब ५३ करोड तीन लाख ६२ हजार ९६८ रुपियाँको अनुमानित बजेट तय भएको छ । जसमध्ये नेपाल सरकारका तर्फबाट ७० प्रतिशत अर्थात् (एक अर्ब सात करोड १२ लाख ५४ हजार ७८ रुपियाँ), सङ्घीय सरकारबाट ऋण अनुदान २५ प्रतिशत अर्थात् (३८ करोड २५ लाख नौ हजार ७४२ रुपियाँ) र स्थानीय सरकारका तर्फबाट उपभोक्ताको लागत सहभागितामार्फत पाँच प्रतिशत अर्थात् (सात करोड ६५ लाख १८ हजार १४८ रुपियाँ ) खर्च व्यवस्थापन गरिने छ ।

खानेपानी आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न हुने छ । योजना सम्पन्न भएपछि प्रतिदिन प्रतिव्यक्ति एक सय लिटर पानी प्रयोग गर्न सक्ने गरी अगामी २० वर्षसम्म झन्डै ५६ हजार जनसङ्ख्यालाई धान्न सक्ने गरी आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजना केराबारी गाउँपालिकाको वडा नं. ५ को न्युरे, सतिसाले, वडा नं. ६ को कालापानी, ७ को ओखलढुङ्गे, भालुकुँडे, सिंहदेवी, वडा नं. ८ को आमजुङ्गी, वडा नं. ३ को देउराली, फूलबारी टोल, वडा नं। १० को थापाटार बाँकेटार हँदै वडा नं. ९ को भलुवा, घङ्घरु, देवीझोडासम्मका झन्डै छ हजार ६४५ घरधुरीका ३१ हजार ३१५ जनसङ्ख्यालाई पुग्ने गरी सञ्चालन गर्ने हत्वकाङ्क्षी लक्ष्य लिइएको छ ।

पिउने पानीको स्रोत खदम खोला र भूमिगत स्रोतबाट व्यवस्थापन गरिने छ । खोलाको पानी थिग्य्राइ शुद्ध र गुणस्तरीय पिउने पानी वितरण गर्न मुहानदेखि रिजर्भ ट्याङ्कीसम्म विभिन्न साइजका २३ किलोमिटर र ट्याङ्कीदेखि घरसम्म झन्डै ४५२ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने सहरी खानेपानी डिभिजन कार्यालय इटहरीका परामर्शदाता शिशिर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आयोजना सुरु भएपछि २२ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्न विभिन्न ठाउँमा स्थानीयले निजी जग्गा र सार्वजनिक जग्गासमेत उपलब्ध गराइसकेकाले काम सुरु भएपछि निर्धारित समयमा सम्पन्न हुने परामर्शदाता गौतमले बताउनुभयो । केराबारी सहरी खानेपानी समितिको उपाध्यक्ष एवं वडा नं. १० का वडाध्यक्ष पूर्णबहादुर मगरले भन्नुभयो, १, २, ४ नम्बर वडा पूरै र ३ नम्बर वडाको आधा जनसङ्ख्या यो आयोजनाबाट लाभान्वित हुने छन् । हालसम्म खदम खोलाको पानी खाइरहेका केराबारीवासीको चार दशक पुरानो सपना हो यो योजना । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किसन शाहीले स्रोतको सुनिश्चित भएकाले समयमा नै योजना सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)