Aamsanchar

सन्तानको दुःख टुलुटुलु हेर्नुपर्ने बाध्यता

Author Image
सोमवार, वैशाख २५, २०७४

झापा ।

सबै बाबुआमालाई आफ्ना सन्तान शारीरिक रुपमा स्वास्थ्य अनि तन्दुरुस्त हुँदा संसारकै खुसी मिल्छ । तर, सबैलाई यो खुसी हुने मौका कहाँ मिल्छ र ! बरु उल्टै आफ्नै अशक्त सन्तानको दुःख टुलुटुलु हेर्नुपर्ने कोही–कोहीलाई बाध्यता हुन्छ ।
यस्तै बाध्यता छ– झापा शिवसताक्षी नगरपालिका– ८ टेक्राका फुलमाया गौली र लक्ष्मीप्रसाद गौलीलाई । उनीहरुको सातौं सन्तानको रुपमा २०६० साल भदौमा जन्मिएकी छोरी गोमा गौली पूर्ण अशक्त छिन् । तीन वर्षसम्म मज्जाले बस्ने, खाटबाट आफै झर्नसक्ने तर हिंड्न चाँहि सक्दिनन् थिइन् उनी । बिस्तारै शरीर लुलो हँुदै गयो, बोली पनि आएन, सुन्न पनि सक्न छोडिन् उनले । गोमाको यस्तो अवस्थाले उनीहरुलाई निकै चिन्तित् बनाएको छ अहिले ।

छोरीको यो अवस्था सुधार हुन्छ कि भनेर स्थानीय अस्पताल पनि पु¥याए गौली परिवारले तर उनको उपचार नसकेपछि काठमाडौं लान सल्लाह दिइएको छ । आर्थिक अवस्था कमजोर भएपछि उनीहरुले छोरीको उपचार गराउन सकेनन् । अहिले उनी पूर्णरुपमा अशक्त छिन् र ओछ्यानै परेकी छिन् ।
गोमा अहिले १३ वर्षकी भइन् । तर, उनीमा कुनै ज्ञान छैन, आफ्नो लागि केही गर्न सक्दिनन् । खाना, बस्न, सुताउन, दीशा–पिसाव गराउन, नुहाइ–धुवाइ सबै कुरामा उनलाई सहयोगी चाहिन्छ ।
अधिकांश समय उनी घरमा एक्लै हुन्छिन् । एक्लै हुँदा गोमाले आँखा घोचेर आँखाको नानी बाहिर निकालेकी छिन्् । जसले गर्दा उनको आँखामा फुलो परेको छ । ‘अब आफू पनि वृद्घ हुँदै गएकोले छोरीको सुरक्षाले झनै सताएको छ । सुरक्षित राखिदिने संस्था भए धर्म हुने थियो ।’ उनकी आमा फुलमायाले भनिन् ।
गोमालाई सरकारले अपाङ्ग संरक्षण तथा कल्याण नियमावली २०५१ को नियम अनुसार अपाङ्ग परिचयपत्र प्रदान गरेको छ ।

सरकारले प्रदान गर्ने रकमले गोमाको परिवारलाई थोरै भए पनि राहत पुगेको छ । तर आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचार गराउन नपाएका कारण परिवार अहिले चिन्तित छ । फुलमाया भन्छिन्– ‘छोरीलाई कुनै संघ–संस्थाले उद्धार गरिदिए छोरीको सुरक्षा हुनेथियो । छोरी अहिले असुरक्षित छे, दिनभरि घरमा एक्लै छोडेर जाँदा आधामासु हुन्छ ।’ गौली परिवार छोरीको उपचार गराउन नसकेर चिन्तित मात्र छैन, उनको सुरक्षा गर्न नसकेको कारण अझै बढी चिन्तित बनेको छ ।
आर्थिक अवस्था कमजोर बनेको कारण काम गर्न बाहिर गएको बेला छोरीलाई कसैले कुदृष्टि लगाउनछ कि भन्ने चिन्ताले पिरोलेको बताउँछन्– उनका बुबा लक्ष्मीप्रसाद । उनी भन्छन्– ‘सन्तानले साहारा देला कि भन्ने बेलामा सन्ताको साहारा बन्नुपर्दा मन दुख्दो रहेछ ।’ सकुञ्जेल जेनतेन छोरीको हेरचाह गर्छौं नसकेको दिन छोरीलाई कसले हेर्देला । उनी भन्छन्– ‘कसैले आर्थिक सहयोग गरेर छोरीको उपचार गराइदिए भगवान सम्झेर पुज्नेथियौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)