Aamsanchar

रक्सी खाएर म्यादी प्रहरीले गाउँलेलाई कुटे, गाडीमा तोडफोड

Author Image
सोमवार, वैशाख २५, २०७४

प्यूठान,

 रक्सी खाएर लठ्ठिएका म्यादी प्रहरीले गौमुखी गाउँपालिका–५ खुङमा स्थानीय बासिन्दालाई कुटपिट गरेका छन् । राति सुतिरहेका स्थानीय बासिन्दालाई कुटपिट गरेका उनीहरुले पार्किङ गरी राखेका जिपमा समेत तोडफोड गरेका छन् ।

शनिवार रातिको घटना भए पनि प्रहरीले घटनाका बारेमा केही कुरा बाहिर ल्याएको छैन । सोमबार दिउँसो जिल्ला प्रहरीमा पीडित पक्षहरु उजुरी दिन आएपश्चात मात्र घटना बाहिर आएको हो । रक्सी खाएर स्थानीय बासिन्दालाई कुटपिट गर्नेहरु शिशिर मल्ल, किशोर मल्ल, राजेन्द्र केसी, रमेश मल्ल र शरद मल्ल रहेको स्थानीय बासिन्दाको भनाई छ । यी मध्ये किशोर र शरद स्थानीय तह निर्वाचनका लागि भर्ना भई तालिमका लागि गाउँ गएका म्यादी प्रहरी हुन् ।

उनीहरुले गौमुखी गाउँपालिका ५ नं वडा निवासी पुना केसी, लोक बहादुर थापा र अस्मिता थापालाई कुटपिट गरेका हुन् । स्थानीय बासिन्दाका अनुसार पुनाको घरमा झगडा गरीरहेका बेला छुट्टाउन भनी गएका थापाका श्रीमान श्रीमतीलाई पनि दुईजना म्यादीसहित अन्य ३ जनाले घरमै कुटपिट गरेका हुन् ।

उनीहरुलाई निर्घात कुटपिटमा संलग्न युवाहरुले नजिकै पार्किङ गरी राखेको लु १ ज २०२४ नं. को जीपमा समेत तोडफोड गरेका छन् । बाटोमा फालेका बियरका बोतल र ढुङ्गा प्रहार गरी उनीहरुले गाडीको सिसा, लुकिङ ग्लास लगायतमा तोडफोड गरी क्षति पुर्‍याएको गाडी धनी लक्ष्मण गिरीले बताउनुभयो ।

घटनामा म्यादी प्रहरी संलग्न रहेको थाहा भएपछि प्रहरीले घटना बाहिर ल्याउन चाहेको छैन । अनुसन्धानका लागि जिल्ला प्रहरीमा ल्याइएका उनीहरुको नाम र वास्तविकता बारे सोधपुछ गर्न खोज्दा इन्पेक्टर नृप बहादुर बोहोराले सञ्चारमाध्यमलाई खबर र सूचना दिन मानेनन् । प्रहरीको कन्ट्रोल नं. १०० मा समेत सोधपुछ गर्न खोज्दा सूचना दिन आनाकानी गरेका छन् ।

अहिले प्रहरीले पीडित र पीडक पक्ष दुबैलाई राखेर छलफल गराए पनि खास बास्तविकताबारे जानकारी दिएका छैनन् । इलाका प्रहरी कार्यालय लिवासेमा पीडितहरुले उजुरी दिए पनि उचित क्षतिपुर्ति नपाएपछि पीडितहरु जिल्ला प्रहरीमा आएका छन् ।

प्रहरीले राजनैतिक दलको सहयोगमा पीडितहरुको भन्दा पीडकहरुको समर्थन गरेको भन्दै आफूहरुले प्रहरीबाट सहयोग नपाएको गुनासो उनीहरुले गरेका छन् । स्थानीय बासिन्दालाई कुटपिट र गाडीमा तोडफोड गर्ने म्यादी सहितका युवाहरुलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।-एलबी थापा/उज्यालो ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर