Aamsanchar

विद्युत चुहावट नियन्त्रण टोलीमाथि दुव्र्यवहार

Author Image
मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड।

विद्युत चुहावट नियन्त्रणका लागि झापा गाउँपालिका–२ पुगेको नेपाल विद्युत् प्राधिकरणको विद्युत चुहावट नियन्त्रण टोलीमाथि दुव्र्यवहार भएको छ । विद्युत् प्रशारण लाइनमा हुक लगाएर मोटरबाट सिञ्चाई गर्दागर्दै र हुकिङ गरेर घरमा विजुली जडान गर्ने १० जना स्थानीयबासीलाई पक्राउ गरेपछि विद्युत चुहावट नियन्त्रण टोलीमाथि दुव्र्यवहार भएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए ।

उनका अनुसार स्थानीय घनेन्द्र लिम्बू र नेत्र खड्काको नेतृत्वमा रहेका ४०÷४५ जनाको समूहले प्राधिकरणको टोलीलाई घेरा हाली गाली गलौज गर्दै गाडीमा समेत आगजनी गर्न खोजिएको थियो ।
विद्युत् चुहावट नियन्त्रणका लागि पुगेको टोलीलाई दुव्र्यवहार गरेपछि पक्राउ परेका सबै भागेको केन्द्र प्रमुख सिंहले जानकारी दिए । टोलीमाथि दुव्र्यवहार भएपछि प्राधिकरणले सोमवार घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेको केन्द्र प्रमुख सिंहले बताए ।
प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय नेपाल विद्युत् प्राधिकरण विराटनगर, क्षेत्रीय कार्यालय बिराटनगर, चुहावट नियन्त्रण महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाले समेत घटनाको विषयमा लिखित जानकारी गराएको अनारमनी वितरण केन्द्रका प्रमुख सिंहले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण अनारमनी बितरण केन्द्रले पछिल्लो समय झापामा विद्युत् चुहावट नियन्त्रण कार्यलाई तीव्रता दिएको छ । सो क्रममा ३ सय ६२ जना विद्युत् चोरीमा सम्लग्नलाई कारवाही गरेको छ जनाइएको छ । जसबाट ३१ लाख भन्दा बढी राजश्व संकलन गरेको केन्द्र प्रमुख सिंहले बताए ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर