Aamsanchar

प्रचार अभियानसँगै मतदाता उत्साहित

Author Image
मङ्गलवार, वैशाख २६, २०७४

काठमाडौँ ।

कीर्तिपुर नगरमा विभिन्न राजनीतिक दलले आ–आफ्नो निर्वाचन प्रचार प्रसार अभियानलाई तीव्र पारेपछि मतदाता उत्साहित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा सहभागी दलले मतदातालाई आकर्षित गर्न प्रचार प्रसारका विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएका छन् । यसअघि १९ वडा भएको कीर्तिपुर नगरपालिकामा नयाँ संरचनाअनुसार १० वडा कायम गरिएको छ ।

कीर्तिपुर– ९ भाजिङ्गलकी पार्वती श्रेष्ठ नागरिकका अधिकारलाई स्थानीय सरकारले सम्बोधन गर्ने भएकाले विकासप्रेमी जनप्रतिनिधिलाई मात्र निर्वाचनमार्फत छनोट गर्ने बताउनुहुन्छ । कीर्तिपुरमै रहेको त्रिभुवन विश्व विद्यालयबाट स्वदेश तथा विदेशी विद्यार्थीले आवश्यक ज्ञान हासिल गरी आफूलाई योग्य सावित गरेका छन् । मुलुकको राष्ट्रिय राजनीतिमा नेतृत्व गर्ने अधिकांश नेताले सोही विश्वविद्यालयबाट शिक्षा तथा दीक्षा प्राप्त गरेको भए त्यति विकसित हुन नसकेको श्रेष्ठले गुनासो गर्नुभयो ।

पाङ्गा दोबाटोमा चुराको पसल सञ्चालन गर्दैआउनुभएका डिना महर्जन लामो समयपछि हुन लागेको निर्वाचनमा मतदान गर्न आतुर हुनुहुन्छ । स्थानीय विकास तथा पूर्वाधार निर्माणलाई अगाडि बढाउन सक्ने उम्मेदवारलाई मत दिने उहाँ बताउनुहुन्छ ।

नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्य गरी कुल ५२ पदका लागि ११ दल तथा स्वतन्त्रसहित २६८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने एक जनाको उम्मेदवारी बदर भएको छ ।

करिब ६५ हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा २८ हजार १०३ मतदाता रहेको कीर्तिपुरस्थित निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो । बीस वटा मतदान केन्द्र तय गरिएको सो नगरपालिकामा नगरप्रमुख पदका लागि १५ जना तथा उपप्रमुखमा आठजनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर