Aamsanchar

पूर्वमा फेसबुक अपराध बढ्दै

Author Image
शुक्रवार, वैशाख २९, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड।

प्रविधिको विकास भएसंगै पछिल्लो समय साइबर अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । पछिल्लो समय झापा लगायत पूर्व क्षेत्रमा दिनहुँ साइवर अपराधका उजुरी प्रहरीमा पर्न थालेसंगै साइवर अपराध बढ्दै गएको हो ।

फेसवुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको दुरुपयोग गरेर विभिन्न खाले अपराध झापामा सातामा एउटा घट्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए । उनका अनुसार सामान्य प्रकृतिका मुद्दा दिनहुँ आएपनि विशेष प्रकृतिका घटना सातामा एक दुईवटा हुने गरेका छन् । विशेष प्रकृतिको घटना भए आफूहरुले अपराध अनुसन्धान महाशाखामा उजुरी गर्न सल्लाह दिने गरेको पनि प्रहरी उपरीक्षक क्षेत्रीले बताए । साइवर अपराधसम्वन्धी मुद्दा विशेष अदालतले हेर्ने भएकाले पनि यस्ता उजुरी आए काठमाडौं पठाएछौं क्षेत्रीले भने ।
नेपालमा सूचना प्रविधिको विकास र विस्तारसँगै यसको दुरुपयोग पनि दिनानुदिन बढ्‍दै गएको तथ्‍याङकले देखाएको छ । विज्ञहरुले साइबर अपराध दिनानुदिन बढ्‍दै गएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । झापामा पछिल्लो समय सामाजिक सञ्जालबाट विभिन्न खाले अपराधका घटना घट्ने गरेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाई छ ।
क्षेत्रीका अनुसार जिल्ला प्रहरी कार्यालय झापामा चार सय ४४ वटा सार्वजानिक अपराधका उजुरी दर्ता भएको छ । साइबर अपराधलाई प्रहरीको केन्द्रिय कार्यालयले मात्र हेर्ने भएकाले झापामा उजुरी परेपनि अनुसन्धान भने उतैबाट हुने गरेको एसपी क्षेत्रीले बताए ।  झापामा पछिल्लो समय विद्युतीय अपराधका घटना बढ्दै गएकाले उजुरी पनि दिनानुदिन बढ्दै प्रहरीले जनाएको छ । आमसञ्चार डट.कमसंग कुरा गर्दै एसपी क्षेत्रीले भने– कसैले नक्कली फेसबुक खाता खोलेको छ वा तपाईंको फेसबुक खातामा कसैले अश्लील तस्बीर, शब्दलगायत कुनै पनि आपत्तिजनक प्रयोग गरेको छ भने अब चिन्ता मान्नु पर्दैन । उजुरी दिए तत्कालै कारबाही गर्नेछौं ।
विद्युतीय कारोबार ऐन ०६३ र नियमावली ०६४ बमोजिम त्यस्ता अपराध गर्ने व्यक्तिलाई तीन वर्ष कैद वा दुई लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनमा उल्लेख गरिएको छ । पूर्वमा साइबर अपराध बढेपनि दुई वर्षको अवधिमा कसैले पनि मुद्धा दर्ता नगराएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विद्युतीय अपराधका घटनामा बृद्धि भएका गुनासोहरु आएपनि उजुरी भने दर्ता भएका छैनन् । उनले प्रसस्त गुनासो आएपनि लिखितरुपमा उजुरी दर्ता नभएकाले कानुनी कारबार्ही प्रक्रिया अगाडि बढाउन नसकेको प्रहरीले जनाएको छ ।
यसैबीच क्षेत्रीय प्रहरी कार्यालयले साइबर अपराध नियन्त्रण गर्न सजग गराउने उद्देश्यले पूर्वका जिल्लामा ’विद्युतीय हस्ताक्षर, सूचना संरक्षण तथा साइबर अपराध नियन्त्रण’ अन्तरक्रियामा सूचनासँग नजिक रहेका सबैलाई सजग गराएको प्रहरी निरीक्षक निरौलाले बताए । पछिल्लो समय फेसबुक, ट्वीटर, इमेललगायत सामाजिक सञ्जालमार्फत अपराध बढ्न थालेको तथा त्यसमा कसरी उजुरी गर्ने तथा कारबार्ही के हुन्छ भन्ने विषयमा सचेतना मुलक कार्यक्रम गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले पूर्वका झापा सहित १६ जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३२ वटा सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको प्रहरी निरीक्षक निरौलाले जनाकारी दिए ।
उनले साइबर अपराध गरेको जानकारी पाउनासाथ त्यस्तो प्रमाण कम्प्युटरमा सुरक्षित राखेर नजिकको प्रहरीमा खबर गर्न अनुरोध गरेका छन् ।
नेपालमा पछिल्लो समय साइबर कानुनको अभावमा क्राइमको स्थित ह्‍वात्तै बढेको र यसलाई चाडै नियन्त्रण नगरे समाजमा ठूलो असर पर्न सक्‍ने चुनौती देखिएको जानकारहरु बताँछन् । उनीहरुले यसलाई रोक्न पर्याप्त कानुन र सरकारले नियन्त्रण गर्न सुझाव दिएका ‍छन् । प्रविधिलाई दुरुपयोग नभइ सदुपयोग गर्न आग्रह गरेका छन् ।
विशेष गरी ह्‍याकरहरुले सेक्सको प्रचारप्रसार सामग्री राख्‍ने, प्रोनोग्राफी र अनलाइन सेक्सको व्‍यापार गर्ने, सामाजिक सञ्‍जाल ९फेसबुक र ट्विटर०मार्फत व्‍यक्तिलाई फसाएर आक्रमणको निसाना बनाउने गरेको प्रहरीले जनाएको छ । विद्युतीय कानुन अनुसार अपराधिलाई कारबार्ही गर्ने र सबैभन्दा पहिला सचेतनाको अवस्यकता देखिएको प्रहरी निरीक्षक निरौलाले बताए ।

Views: 190

प्रतिक्रिया (०)