Aamsanchar

गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज

Author Image
शनिवार, कार्तिक २४, २०८१

काठमाण्डौ – प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

गणेशमान जयन्तीको अवसरमा भक्तपुरको कटुञ्जेमा रहेको गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीमा गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम आयोजना गरिएको छ ।

१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो । सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

राणाशासन विरोधी अभियानमा लागेपछि उहाँलगायतका नेतालाई तत्कालीन सरकारले जेल राखेको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो ।

२०१५ सालमा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र खोसिएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो ।

२०२५ सालमा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । २०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो ।

२०४६ सालमा कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बन्नुभएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)