काठमाडौँ ।
गृहसचिव लोकदर्शन रेग्मीले सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल बनाउन लागिरहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव रेग्मीले सरकारले निर्वाचनका लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिनुभयो ।
“गृह प्रशासन गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ,” उहाँले भन्नुभयो । सुरक्षा व्यवस्था मिलाएकाले सम्पूर्ण मतदातालाई निर्वाचनमा निर्र्भयताका साथ सहभागी हुन उहाँले आग्रह गर्नुभयो । सचिव रेग्मीले निर्वाचनको लागि नै सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल टिम र स्ट्राइक टिम खटाइने उहाँले बताउनुभयो ।
तीन घेरामा सुरक्षा निकायलाई खटाइने र नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने तथा अतिसंवेदनशील स्थानमा हेलिकप्टरमार्फत नेपाली सेनालाई खटाउने उहाँको भनाइ थियो ।