Aamsanchar

होर्डिङ बोर्डको होडबाजी, कुरुप बन्दै बिर्तामोड

Author Image
सोमवार, जेठ १, २०७४

बिर्तामोड।

मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा कुनै पनि वस्तुको सबैभन्दा बढी व्यवसायिक कारोबार हुन्छ । व्यवसायिक कारोबारको प्रतिस्पर्धाका लागि विज्ञापनका लागि होडबाजी चल्छ ।
कारोबार बढाउन हुने यो होडबाजीमा बस्तु व्यापारका विज्ञापनका होर्डिङ बोर्डले बिर्तामोड दिनदिनै कुरुप हुँदै गएको छ । होर्डिङ बोर्डले बिर्तामोड कुरुप बनाएको विषयमा अनुगमन गर्ने निकाय बिर्तामोड नगरपालिका पनि जानकार छ ।
जानकार भएर पनि नगरपालिकाले कारवाही अघि नबढाउँदा व्यापारिक कारोबारका होर्डिङ बोर्ड होटल, किराना पसलदेखि मदिरा पसलसम्म सडकनै छोप्ने गरेर राख्ने गरिएको छ । नियम विपरीत होर्डिङ बोर्ड राख्नेमा बहुराष्ट्रिय कम्पनीदेखि मदिरा कम्पनीसम्म छन् ।
नियम विपरीत राखिएका होर्डिङ बोर्डका कारण सर्वसाधारणले सडकपेटीमा समेत सहजै हिँड्डुल गर्न कठिनाई ब्यहोरिरहेका छन् । अवव्यस्थित होर्डिङबोर्डका कारण सडक सौन्दर्य गुमेको र सर्वसाधारणलाई आवत जावतमा समेत समस्या पर्न थालेको स्थानीयवासी बताउँछन् । सार्वजनिक स्थानमा ठूला होर्डिङ बोर्ड राख्न पाइँदैन । तर, नियम विपरीत जथाभावी बिर्तामोड दमक, भद्रपुर, काँकरभिट्टा, धुलावारी लगायतका मुख्य बजारमा होर्डिङ वोर्ड राखिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानी बाहिरका जिल्लामा समेत होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ । शहरी सौन्दर्य कायम राख्न र दुर्घटना कम गर्नका लागि अभियानात्मक रुपमा सो काम गर्न मन्त्रालयले निर्देशन दिएको हो । तर, मन्त्रालयको निर्देशनलाई अटेरगरेपछि झापाका मुख्य बजारमा ‘तँ छाड म छाड’ गर्दै सार्वजनिक स्थानमा नै होर्डिङ वोर्ड राखिएको छ ।
बिर्तामोड नगरपालिकाले होर्डिङ बोर्ड राख्नका लागि ०७२÷०७३मा टेण्डर आह्वान नै गरेको थियो । २०७४÷०७५ मा टेण्डर समाप्त हुने गरी सम्झौतासंगै होर्डिङ बोर्ड राख्न अनुमति दिएको छ । तर, नियम विपरीत होर्डिङ वोर्ड राखिँदा बिर्तामोडको सुन्दरता दिनप्रतिदिन बिग्रदै गएको बताइएको छ ।
विज्ञापनिक प्रयोजनका लागि बनाइएको हार्डिङ बोर्ड सार्वजनिक स्थानमा राखिँदा शहर कुरुप भएसँगै दुर्घटनाको समेत उच्च जोखिम रहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष वलराम कार्कीले बताए ।  उनले भने– ‘सार्वजनिक स्थानमा होर्डिङ वोर्ड राख्न पाइँदैन, यसले शहरी सौन्दर्य विगारेको छ, बिर्तामोड नगरपालिकाले यस विषयमा अनुगमन गरेर सार्वजनिक स्थानमा राखेका होर्डिङ वोर्ड हटाउनु पर्छ ।’
बिर्तामोड नगरपालिकाले बिराटनगरको आकृति एड्भरटाइजिङ प्रालिलाई होर्डिङ बोर्ड राख्नका लागि ०७२÷०७३ देखि २०७४÷०७५ सम्मका लागि वार्षिक ४ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाएको नगरपालिकाका प्रशासन प्रमुख मेघराज बाँस्तालाले बताए ।
तर, सार्वजनिक स्थानमा अहिले अनाधिकृत रुपमा होर्डिङ बोर्ड राखिएको छ । नियम विपरीत होर्डिङ बोर्ड राखिएपछि नगरपालिकाले पटक–पटक नियमानुसार राख्न आकृति एड्भरटाइजिङलाई भने पनि आफूखुशी राख्ने परिपाटीले बिर्तामोडको सौन्दर्य बिग्रिएको छ, यस विषयमा तत्काल नगरपालिकाले कारवाही अघि बढाउँछ– बाँस्तोलाले भने ।
सडक पेटीदेखि घर, विद्युत्का पोल, रुखमा समेत होर्डिङ बोर्ड राखिएको छ । ठूल्ठूला होर्डिङ बोर्ड राखिएकै कारण हावाहुरीले झारेर दुर्घटना निम्त्याउने जोखिम बढे पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ ।
स्थानीय निकायको गैरजिम्मेवारीपनका कारण बिर्तामोडको सम्पूर्ण व्यवस्थापन अस्तव्यस्त हुँदै गएको स्थानीयले गुनासो गरेका छन् । बिर्तामोडमा विभिन्न रक्सी कम्पनीका बोर्ड, शैक्षिक संस्थाका बोर्ड, विभिन्न व्यवसायिक प्रयोजनका होर्डिङ बोर्डहरु राख्ने गरेको पाइएको छ । प्रहरी प्रशासनकै आँखा अगाडि यस्ता होर्डिङ बोर्ड प्रशस्तै भेटिए पनि प्रहरी रमिते बनेको छ ।

Views: 177

प्रतिक्रिया (०)