Aamsanchar

झोलुङ्गे पुल निर्माण कार्य ठप्प

Author Image
सोमवार, जेठ १, २०७४

भद्रपुर।

नेपाली कांग्रेसका झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद कृष्णप्रसाद सिटौलाले आफ्नै क्षेत्रमा शिलान्यास गरेको झोलुङ्गे पुल निर्माण कार्य ठप्प बनेको छ ।
नेता सिटौलाले २०७२ असोज ११ गते भद्रपुरमा उक्त पुलको शिलान्यास गरेका थिए । तर, निर्माण कम्पनीको लापरवाहीले पुल निर्माण कार्य ठप्प बनेपछि मेचीपारी बासिन्दा निराश देखिएका छन् ।
झापाको साविक महेशपुर गाविस हाल भद्रपुर नगरपालिका–३ मा पर्ने मेचीपारीको गाउँबासीको पीडा र दिर्घकालीन समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ मा मेची नदीमा झोलुङ्गे पुल बनाउने योजना अघि सारेको थियो ।
भारतीय सीमावर्ती बजारमा आत्मनिर्भर त्यहाँका नेपाली जनतामा झोलुङ्गे पुल बनेपछि आर्थिक विकासको बाटो खुल्छ भन्ने आशा जागे पनि झोलुङ्गे पुल निर्माण ठप्प भएपछि उनीहरु निराश भएका हुन् । हालसम्म झोलुङ्गेमा पुलको ५ प्रतिशत पनि काम भएको छैन भने निर्माण कम्पनीले पुलको औजार सामग्री ल्याएर थनक्याएको पनि ६ महिना बितिसकेको छ । स्थानीय तहको चुनाव नजिकिदै गएपछि मेची नदीमा एउटा पिलर बनाउन काम शुरु भए पनि त्यो काम पनि निर्माण कम्पनीले अधुरै छाडिदिएको छ ।
निर्माण कार्य अवधि सकिसकेको डेढ महिना बित्न लाग्दा समेत नेता कृष्णप्रसाद सिटौलासहित अन्य कुनै पनि राजनीतिक दलले यसतर्फ चासो नदेखाएको स्थानीयले गुनासो पोखेका छन् । झोलुङ्गे पुल बन्ने सम्भावना नदेखिएपछि स्थानीय आक्रोशित समेत बनेका छन् । नदीमा झोलुङ्गे पुल बन्ने भएपछि आफूहरु खुशी भएको तर पुल नबनेपछि निराश बनाएको स्थानीय अरुण राजवंशीले बताए ।
सरकारी सेवासुविधा लिन, विद्यालय तथा कलेज पढन, काम गर्न जान फेरि मेची नदी तैरिदै जानु पर्ने भएको उनको गुनासो छ । राजनीतिक खेल हो, कि ठेकेदारको कमी–कमजोरीले पुल नबनेको अहिलेसम्म आफूहरुले नबुझेको स्थानीय जीतलाल राजवंशीले बताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट यो पुल बन्न लागेको हो । भ्याटसहित २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा निलगिरी सेवा प्रालि बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्र्झौता गरेको थियो । २ सय ८० मिटर लामो र १३ मिटर चौडाईसहितको पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुनेगरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएको हो । त्यो समय अवधि पनि सकिसकेको छ । अहिले निर्माणस्थलमा एउटा टहरामा दुई÷चार जना कामदार बस्दै आएका छन् ।
यता जिल्ला प्राविधिक कार्यालय झापाका इञ्जिनियर सुशिल श्रेष्ठका अनुसार १ सय २० मिटर लामो झोलुुङ्गे पुल मात्र बन्ने बताए । मेची पारीको पुल हेर्ने सम्पूर्ण जिम्मा मन्त्रालयमा रहेकोले यस बारेमा जिल्ला समन्वय समिति झापा र प्राविधिक कार्यालयले हस्तक्षेप गर्न नमिल्ने इञ्जिनियर श्रेष्ठको भनाइ छ ।
भारतको विहार राज्यको सीमासँग जोडिएको टापु आकारको नेपालको एउटा गाउँ त्यहाँ न त बिजुली छ, सडक छ, शौचालय छ, न त स्वच्छ पानी पिउने वातावरण नै छ । त्यहाँका जनता वर्षौदेखि भारतमै निर्भर छन् । मनसुन शुरु भएपछि भद्रपुर नगरपालिकाले गाउँबासीको सुविधाका लागि एउटा निःशुल्क डुंगा व्यवस्था गरिदिएको छ । त्यही डुंगाको सहाराले दुई वर्षदेखि स्थानीय बर्खाको समयमा आवतजावत गर्न बाध्य बनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर