काठमाडौं, जेठ १ । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार सम्पन्न पहिलो चरणको ३४ जिल्लामा भएको मतगणनामा नेपाली कांग्रेस र एमालेबीच तीब्र प्रतिष्पर्धा देखिएको छ ।

प्रारम्भिक गणनाअनुसार एमालेले चार स्थानमा जित हासिल गरेको छ भने मतगणना जारी रहेका ठाउँमा ४१ ठाउँमा अग्रता लिएको छ । नेपाली कांग्रेसले भने अहिलेसम्म एक गाउँपालिकामा जित हासिल गरेको छ भने ४३ ठाउँमा अग्रता लिएको छ ।
यस्तै, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले एक ठाउँमा जित हासिल गरेको छ भने १८ ठाउँमा अग्रता लिएको छ ।

एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ भने डोल्पाको से–फोक्सुण्ड गाउँपालिकामा निर्विरोध भएको छ ।
त्यस्तै, नेपाली कांग्रेसले मनाङको नार्फूमा निर्विरोध जितेको छ भने नेकपा माओवादी केन्द्रले चौरजहारी नगरपालिकामा मेयरसहित जित हात पारेको छ ।

कुन–कुन ठाउँमा कुन दलको अग्रता ?
नेकपा एमालेले दुई महानगरपालिकामा अग्रता लिएको छ । एमालेले पोखरा–लेखनाथ र ललितपुर महानगरपालिकासहित ४१ ठाउँमा अग्रता लिएको छ । एमालेले हेटौडा उपमहानगरपालिकामा पनि अग्रता लिइरहेको छ ।
यस्तैगरी, काठमाडौंको कीर्तिपुर, नागार्जुन, गोकर्णेश्वर, बुढानीलकण्ठ नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ ।
एमालेले हेटौंडा उपमहानगरसहित थाहा र मनहरी नगरपालिकामा अग्रता लिएको छ ।
म्याग्दीको बेनी नगरपालिका तथा नवलपरासीको देवचुली र गैडाकोट नगरपालिकामा पनि एमालेले लिड गरेको छ ।
यस्तै, धादिङको धुनीबेंसी नगरपालिकाको साथै गजुरी र रुबीभ्याली गाउँपालिकामा अग्रता लिएको छ ।
यसैगरी, कास्कीको मादी गाउँपालिका, रामेछापको गोकुल गंगा गाउँपालिका तथा रामेछापको दुई नगरपालिकासहित लिखु गाउँपालिकामा पनि एमालेको अग्रता छ ।
यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिक, दैलेखको डुंगेश्वर नगरपालिका, सुर्खेतको गर्भाकोट र लेकबेसी नगरपालिका, स्याङजाको फेदीखोला गाउँपालिका, काभ्रेको बनेपा, पनौती र मण्डनदेउपुर नगरपालिकामा अग्रता लिएको छ ।
यसैगरी नुवाकोटको विदुर, नगरपालिकासहित तारकेश्वर, ककनी र कागेश्वरी गाउँपालिका, नवलपरासीको गैंडाकोट, प्रगतिनगर नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका साथै बलेफी गाउँपालिका, तनहुँको भानु नगरपालिकाको साथै म्याग्दे गाउँपालिका, र बन्दीपुरमा एमालेको अग्रता छ । लमजुङको बेंशीशहर र राइनास नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।
..
नेपाली कांग्रेसले काठमाडौंको चन्द्रगिरि, कागेश्वरी मनहरा, टोखा नगरपालिकाको साथै ललितपुरको गोदावरी नगरपालिकामा अग्रता लिएको छ ।
डा.बाबुराम भट्टराईको गृहजिल्ला गोरखाको गोरखा नगरपालिकामा पनि कांग्रेसको अग्रता छ । दैलेखको नारायण नगरपालिका, सल्यानको शारदा नगरपालिका, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ ।
यस्तै, जाजरकोटको कुसे गाउँपालिका, नुवाकोटको शिवपुरी गाउँपालिकाको साथै तादी गाउँपालिका र दोलखाको जिरी नगरपालिकामा कांग्रेसको अग्रता छ ।
यसैगरी, नवलपरासीको कावासोती, मध्यविन्दु नगरपालिकासहित विनयी–त्रिवेणी र बुलिङटार गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ ।
लमजुङको दोर्दी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, सुर्खेतको बराहताल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर नगरपालिका र गढी गाउँपालिका भक्तपुरको मध्यपुर थिमी नगरपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकासहित भोटेकोशी, हेलम्बु गाउँपालिकामा कांग्रेसको अग्रता छ ।
चितवनको राप्ती नगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र डोल्पाको ठुलीभेरी नगरपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ ।
रुकमको चौरजहारी नगरपालिकामा मेयरमा खाता खोलेको माओवादी केन्द्रले सुर्खेतको भेरीगंगा नगरपालिका, दोलखाको जिरी नगरपालिका, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी, मकवानपुरको भीमफेदी, चितवनको खैरहनी, सल्यानको बागचौर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
यसैगरी, ललितपुरको कोञ्जोस्योङ गाउँपालिका, रुकुमको बाफीकोट, सिन्धुलीको गोलनचौर, धादिङको बेनीघाट, थाक्रे र नेत्रावती गाउँपालिकाका साथै काभ्रेको पाँचखाल नगरपालिकाका साथै रोशी गाउँपालिका, मकवानपुरको वागमती गाउँपालिका, जाजरकोटको शिवालय र बारेकाट, सल्यानको दार्मा, कपुरकोट र ढोरचौर गाउँपालिका, कालिकोटको रास्कोट, रसुवाको कालिका, बाग्लुङको ताराखोला, तनहुँको आँबुखैरहनी गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
यस्तै, जाजरकोटको त्रिवेणी नलगाढ, धादिङको बेनीघाट, गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।
फोरमको चुनाव चिन्हमा लडेको नयाँ शक्तिले गोरखाको पालुङटार नगरपालिकामा अग्रता कायम राख्दा अन्यले ५९ स्थानमा अग्रता कायम राखेको छ ।
साभार ः रातोपटी

