Aamsanchar

पर्यटकीय गन्तव्य बन्दै सप्तकोशी नदीको चतरा पुल

Author Image
शुक्रवार, मंसिर २१, २०८१

वराहक्षेत्र-  सप्तकोशी नदीको चतरा पुल क्षेत्रमा आन्तरिक पर्यटहकरुको बाक्लो चहलपहल हुँदै आएको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा बनेको पुल आकर्षक पर्यटकीय स्थल बन्दै आएको छ । एसियाली विकास बैंकको सहयोगमा नौ वर्ष अगाडि चतरास्थित सप्तकोशीमा निर्माण भएको मोटरेबल पुलको आसपास क्षेत्रमा होटल र खाजा खुवाउने पसलहरु समेत बन्दै गएपछि पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको छ ।

धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र मन्दिर र पुलमा घुम्न आउनेदेखि हिउँदमा पुल आसपास क्षेत्रमा वनभोज खान र डुङ्गा (बोट)चढ्न आन्तरिक पर्यटकहरु आउने गरेको वराहक्षेत्र १ का जनप्रतिनिधि कुमार भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “पुल सञ्चालमा आएदेखि नै आन्तरिक पर्यटकको चहलपहल बढ्दै आएको छ ।” धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको वराहक्षेत्र मन्दिर दर्शन गर्न र पुल हेर्नकै लागि आन्तरिक पर्यटकहरु आउने गरेका छन् । पुलबाट देखिने सप्तकोशी नदी, हरियाली डाँडा, पाखा छहराको मनोरम दृश्यले धेरैको मन लोभ्याउँदै आएको छ । पछिल्लो समय कोशी पुल धरान, विराटनगर, इटहरी, गाईघाट, बेलटार, फत्तेपुरका आन्तरिक पर्यटकहरूको राम्रो गन्तव्य बन्दै गइरहेको छ ।

कोशी पुल वरपर स्तरीय होटलदेखि साना खाजा नास्ताका तीन दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । थप होटलहरु सञ्चालनमा हुने क्रममा छन् । दैनिक मानिसहरुको बाक्लो उपस्थिति हुँदा व्यापारसमेत राम्रै हुँदै आएको होटल सञ्चालकहरु बताउँछन् । कोशी पुलको वातावरणमा रमाउन युवापुस्ताहरु पुग्ने गरेका छन् । पुल आसपासको पर्यावरणले पर्यटकहरुलाई आकर्षित गरिरहेको हुन्छ ।

पूर्वी नेपालका विभिन्न स्थानबाट राजधानी जान छुटेका साना यात्रुवाहक गाडीहरु समेत यही सडक भएर गुड्ने हुँदा सवारी रोकेर तस्वीर खिच्ने र रमाउने गरेको देखिन्छ । सप्तकोशी नदीमा पुलमुनिबाट सञ्चालन हुँदै आएको जेटबोट अर्को आकर्षणको केन्द्रबिन्दु बनेको छ । यो बोट वराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेटबोट चढ्न र वनभोज खान आउने गरेको स्थानीय सन्तोष गुप्ता बताउनुहुन्छ ।

उदयपुरको मैनामैनी र सुनसरीको वराहक्षेत्र जोड्ने चतरामा पुल सञ्चालनमा आएदेखि हेटौँडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक सडकका रुपमा छ । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजरूपमै जोडिएका छन् । दुई सय ६१ दशमलव तीन मिटर लामो यो पुल तीनवटा पिलरमा निर्मित छ । प्रसिद्ध चार धाम सप्तकोशी किनारमा रहेको वराहक्षेत्रधाम, बागमती नदी किनारमा रहेको पशुपति क्षेत्र, कालीगण्डकीको शिर मुक्तिक्षेत्रधाम र कालीगण्डकी किनारको ऋषिकेश क्षेत्र धाम धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण छन् ।

धार्मिक पर्यटन र जलस्रोतको अपार सम्भाव्यता भएको यो क्षेत्र साहसिक र मनोरञ्जनात्मक खेल प्रवर्द्धनका दृष्टिले पनि प्रचुर छ । वराहक्षेत्रलगायत कुम्भ नगरी प्राचीन हरिद्वार, औलिया मठ, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थ, सुनसरी मोरङ सिँचाइ आयोजना, चतरा हाइड्रोपावर, पूर्वपश्चिम वैकल्पिक लोकमार्गका कारण पनि यो क्षेत्र आकर्षक बन्दै गएको छ । वराहक्षेत्र, चतराधाम, रामधुनी, विष्णुपादुका र धरान नजिकै रहेको चतरा सूर्यकुण्ड क्षेत्र प्राकृतिक रूपमा भेडेटारपछिको प्रकृतिको रमणीय अवलोकन स्थलको रुपमा विकसित हुँदै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर