बिर्तामोड।

झापामा आर्थिक वर्ष २०७३÷०७४ मा ५८ जना मृगौला रोगी थपिएका छन् । जसमा १९ महिला र ३९ पुरुष छन् । उनीहरुले साताको दुई पटकसम्म नियमित हेमोडायलासिस गर्नुपर्छ ।
मृगौला रोगीका लागि सरकारले निःशुल्क हेमोडायलासिस सेवा उपलब्ध गराउने निर्णय गरेको छ । तर, झापामा रहेका मृगौला रोगी यो सेवा लिनबाट बञ्चित छन् । मृगौलाको हेमोडायलासिस गराउन महिनामा कम्तीमा पनि २४ हजार भन्दा बढी खर्च हुन्छ । सरकारले मृगौला रोगीको निःशुल्क उपचार गर्ने भन्दै देश भरका विभिन्न अस्पताललाई सिफारिस गरेसँगै मृगौलाको निःशुल्क हेमोडायलासिस सेवा शुरु भएको हो ।

तर, मेची अञ्चल अस्पताल भद्रपुरमा यो सेवा शुरु हुन नसक्दा महंगो शुल्क तिरेर मृगौला रोगीले निजी अस्पतालबाट सेवा लिनु परेको छ । अहिले झापाको बिर्तामोडमा रहेको निजी अस्पताल पूर्ण–टुङ्ग विर्ता सिटीमा यो सेवा सुचारु छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार केही समय अघिबाट ओमसाई पाथीभरा हस्पिटलले निःशुल्क मृगौलाको हेमोडायलासिस सेवा शुरु गरेको छ । तर, हेमोडायलासिस मेसिन २ वटा मात्र भएका कारण बिरामीले सहजै सेवा लिन पाइरहेका छैनन् । ‘दैनिक तीन सिफ्ट गरेर ६ जनाको मात्रै डायलासिस हुन्छ’– ओमसाई पाथीभरा हस्पिटलका दीप पोखरेलले भने – ‘विरामीको चाप उच्च छ, सवैलाई हामीले चाहेर पनि सेवा दिन सकिरहेका छैनौं ।’
झापामा मृगौला रोगीको संख्या वर्षेनि बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी देवराज कार्कीका अनुसार आर्थिक वर्ष २०६६÷०६७ मा ३४जना २०६७÷०६८ मा ४८ जना, २०६८÷०६९ मा ३६ जना, २०६९÷०७० मा ४० जना, २०७०÷७१ मा ५२ जना, २०७१÷७२ मा ६५ जना र २०७३÷०७४मा ६५ जना मृगौलाका नयाँ रोगी थपिएका छन् ।
एकपटक मात्र हेमोडायलासिस गराउँदा सेवा शुल्क दुई हजार पाँच सय, बुझाउनु पर्छ, त्यसमाथि औषधि र रगत तथा बोतल किन्दा झण्डै पाँच हजार रुपैयाँ लाग्छ– मेचीनगर नगरपालिका निवासी पत्रकार मृगौला रोगी अमृतलाल श्रेष्ठले भने । उनी अहिले बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलबाट सेवा लिइरहेका छन् । राष्ट्रिय समाचार समितिका पूर्व मेची अञ्चल प्रमुख समेत रहेका श्रेष्ठले भने– एकपटकमा नै पाँच हजारको हाराहारीमा खर्च आउँछ, सातामा दुईपटक गराउनेको समस्या झन कस्तो होला ?
सरकारले राजधानी केन्द्रित गरेर यो सेवा सञ्चालनमा ल्याए जस्तै भएको छ मलाई, उनले भने– ‘मेची अञ्चलमा एउटा निजी अस्पतालमा यो सेवा शुरु भएको छ, मेची अञ्चल अस्पतालमा पनि यो सेवा शुरु भएको भए रोगीलाई सहज हुने थियो ।’
मेची अञ्चल अस्पतालमा प्राविधिकको अभावमा सेवा सुचारु गर्न नसकिएको बताउँछन्– अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिताम्बर ठाकुर । ठाकुरका अनुसार यो सेवा शुरु गर्न अस्पतालमा हेमोडायलासिस मेसिन ल्याएको छ । अस्पतालको आन्तरिक श्रोतबाट दुई वटा र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट दुई वटा गरी चार वटा मेसिन उपलब्ध छन् । तर, प्राविधिक अभावमा ती मेसिन थन्क्याउनु परेको छ– मेसु ठाकुरले भने– चुनाव लगत्तै यो सेवा हामी सुचारु गर्छौं ।’
बिर्तासिटी हस्पिटलमा दैनिक १० जना भन्दा बढीको हेमोडायलासिस हुन्छ । यो दर दिनानुदिन बढ्दो छ– अस्पतालका प्रमुख डा. अनिल बस्नेतले भने – ‘हामीले निजी लगानीमा भए पनि सेवा शुरु गरेका छौं, जसका कारण यहाँका विरामी अन्यत्र जानु परेको छैन ।’
पूर्ण–टुङ्ग बिर्ता सिटी अस्पतालले अहिले दैनिक १० देखि १२ जनाको हेमोडायलासिस गर्दै आएको छ । नेपालमा वार्षिक तीन हजार व्यक्तिको मृगौला पूर्ण रुपमा फेल हुने गरको छ भने कूल जनसंख्याको १० प्रतिशत मृगौला सम्बन्धी कुनै नकुनै समस्या देखिने गरेको चिकित्सकले बताएका छन् । मृगौला फेल भइसकेपछि सामान्य जीवन निर्वाह गर्न महिनामा १०देखि १२ पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।
सरकारले झापाको मेची अञ्चल अस्पतालसहित ओमसाई पाथीभरा अस्पताल चन्द्रगढी, वीर अस्पताल काठमाडौं, शिक्षण अस्पताल महाराजगञ्ज, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, कान्ति बाल अस्पताल महाराजगञ्ज, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, कोशी अञ्चल अस्पताल बिराटनगर, जनकपुर अञ्चल अस्पताल धनुषा, मानव अंग प्रत्यारोपण केन्द्र रहेका छन् ।
त्यस्तै भक्तपुर राष्ट्रिय मृगौला उपचार केन्द्र, बनस्थली काठमाडौं, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, नेपाल मेडिकल कलेज जोरपाटी, युनिभर्सल मेडिकल कलेज भैरहवा, चितवन मेडिकल कलेज चितवन, कलेज अफ मेडिकल साइन्सेस चितवन, मणिपाल मेडिकल कलेज पोखरा, वीएण्डवी अस्पताल ललितपुर, नेशनल डायलसिस सेन्टर एकान्तकुना, ललितपुर गोल्डेन अस्पताल विराटनगर, धुलिखेल अस्पताल काभ्रे, गण्डकी मेडिकल कलेज पोखरा, आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर, बिराट अस्पताललाई निःशुल्क मृगौलाको उपचार गराउन सिफारिस गरेको छ । जहाँ उपचार गराउन जाँदा रोगीले जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको सिफारिस पत्र लिएर जानुपर्छ ।

