स्याङ्जा- पुतलीबजार नगरपालिका –३ बाढखोलाको सूर्योदय महिला क्लबले वृद्धाआश्रमलाई सहयोग गरेको छ । तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट गल्याङ नगरपालिका –१ रामनदी धाम राम्दीमा रहेको शिव पार्वती वृद्धाआश्रमलाई विद्युतीय हिटर तथा एक दिनको भोजन सहयोग गरेको हो । आश्रममा आश्रित २२ जना ज्येष्ठ नागरिकहरुका लागि २३ हजारका आठ वटा हिटर र एक दिन एक दाता कार्यक्रमका लागि सात हजार रुपियाँ गरी ३० हजार रुपियाँ बराबरको सहयाग गरेको हो ।
सामग्रीहरु वृद्धाआश्रम कार्यालयका सचिव सुनिल श्रेष्ठलाई क्लबका अध्यक्ष तारा पौडेललाई हस्तान्तरण गर्नुभएको हो । आश्रममा रहेको वृद्ध आमाबुबालाई आफ्नै मानेर जाडोमा चिसो भएको अनुभूति गर्दै तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट सहयोग गरेको पौडेलले बताउनुभयो । गरिब तथा असहायको सहयोगमा आफूहरु निरन्तर लागिरहेको बताउनुहुँदै पौडेलले आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।