काठमाडौँ – ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित भएका छन् । दक्षिण एसियाली ज्योतिष महासंघ र विक्रम विश्वविद्यालय उज्जैन भारतको संयुक्त आयोजनामा भएको चौथो अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा उनलाई ज्योतिष शिरोमणिबाट विशेष सम्मान गरिएको हो । यसैगरी आचार्य लक्ष्मण पन्थी, डा।देवी प्रसाद खनाल,आशिष सिम्खडा, चुडामणि पाण्डे नीलकण्ठ आचार्य लगायतका नेपालबाट प्रतिनिधित्व गर्ने अन्य ज्योतिष तथा वास्तुविद्हरुलाई पनि विशेष सम्मान गरिएको थियो ।
मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव तथा विक्रम विश्वविद्यालयका कुलपति र दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका अध्यक्ष आचार्य लक्ष्मण पन्थीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्मेलनको उद्घाटन गरिएको थियो । सम्मेलनमा ज्योतिष तन्त्र एवं वास्तुसम्बन्धी विशेष चर्चा एवं कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालबाट प्रतिनिधित्व गर्ने ज्योतिषीहरूको मुख्य उद्देश्य नेपालबाट प्रकाशन हुने पञ्चाङ्ग भारतमा पनि लागु गर्नुपर्ने विषयमा विशेष छलफल भएको रिजालले जानकारी दिए ।
ज्योतिषमा गणना हुने (काल गणना) समय गणना नै उज्जैनबाट भएको प्राचिन ज्योतिषीय ग्रन्थहरुमा उल्लेख गरिएको छ । कर्कट रेखाको प्रारम्भ नै महाकालेश्वर उज्जैनबाट भएको प्रमाण नै उज्जैनमा विक्रम विश्वविद्यालय हो ।