हिले- साँगुरीगढी गाउँपालिका-७ महाभारतमा खानेपानीको चरम समस्या छ । यहाँका स्थानीय बिहान हुने बित्तिकै खानेपानी ल्याउनका लागि घण्टौंसम्म पैदल हिडेर मुहानसम्म पुग्नुपर्छ । खडेरीको कारण बस्ती नजिकका कुवा, पँधेरो सुक्दै गएपछि पानी ल्याउन डेढदेखि दुई घण्टा टाढाको माखावा खोला धाउनुपर्छ ।
पानीको लागि कतिको बिहान बित्छ त कति परिवारका वाल बच्चाको स्कुल नै छुट्छ । लामो समयदेखि खानेपानीको चरम समस्या झेलीरहेको यहाँका स्थानीयको मुहारमा अहिले भने छुट्टै आशाको खुशी देखिन थालेको छ । आशाको खुशी देखिनुको कारण हो गाँउमा लिफ्ट खानेपानी आयोजनाको पानीको सफल परीक्षण हुनु । लिफ्टिङ प्रविधि सफल भएसँगै वर्षौदेखि भोग्दै आइरहेको खानेपानी समस्या सामाधन हुने भएपछि आफूहरु निक्कै खुसी र ढुक्क रहेको स्थानीय महाप्रसाद राई बताउनुहुन्छ । “जहिलै घण्टौँ लगाएर पानी बोकेर खानुपर्ने अबस्था छ तर अहिले गाँउको फेदमा रहेको खोलाको पानी माथि डाँडामा रहेको ट्याङ्कीमा खस्यो अब सजिलो गरी खानेपानी पाउँछौ भन्नेमा ढुक्क छौं,” राई भन्नुहुन्छ ।
त्यसो त पानी समस्याकै कारण केहि स्थानीयले विद्यालय समेत जानबाट वञ्चित हुनेसम्म परेको थियो । स्थानीय जुना राई पानीकै कारण आफूहरुको स्कुले जीवनसमेत गुमेको बताउनुहुन्छ । तर आफूभन्दा पछाडीको पुस्ता पानीको समस्याबाट टाढा हुने भएकाले आफूहरु निक्कै खुशी भएको बताउनुहुन्छ । “हाम्रो स्कुले जीवन पानीकै कारण गुमाउनुपर्यो तर अबका भाइबैनीले पानीको कारण स्कुल गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने भयो गाउँमै पानी आउने भयो धेरै खुशी छौं,” राई भन्नुहुन्छ ।
स्थानीयले यो आयोजनाको प्रतीक्षा गरेको पनि ९ वर्ष भयो । खानेपानीको समस्या बढ्दै गएपछि यहाँ २०७२ सालबाट लिफ्टिङ खानेपानी योजना सञ्चालन भयो । क्रमागत योजना तथा बजेट अभावकै कारण उक्त खानेपानी योजना सम्पन्न गर्नका लागि झण्डै सात वर्ष कुर्नुपर्यो । अहिले साँगुरीगढी गाउँपालिका९७ माखावा लिफ्टिङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । माखावा खोला देखि १३ सय ८९ मिटरको उचाइमा रहेको पोखरी डाँडामा लिफिटङ प्रविधिबाट पानी झारिएको छ ।
माखावा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ओमप्रकाश राईका अनुसार खोलाबाट सङ्कलन गरिएको पानीलाई दुई स्थानवाट लिफ्ट गरिएको छ । खोलादेखि ६ सय ३९ मिटर उचाइमा रहेको एप्मालामा रहेको करिव ५० हजार लिटर क्षमतामा ट्याङ्कीमा पानी झारिएको छ । त्यहाँदेखि ५ सय ५० मिटर उचाइमा रहेको पोखरी डाँडाको करिव ५० हजार लिटर ट्याङ्कीमा झारिएको उहाँले जानकारी दिनुभयो । यसको कुल लागत २ करोड ९ लाख रुपियाँ छ ।
योजनाबाट साविक महाभारत गाउँ विकास समितिका वडा नं. १, २, ३ र ४ वडाका २ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले जानकारी दिनुभयो । खानेपानी योजनाले गोलखाडी, होङ्गकुटोल, लेक सिरान, खोङ्गजाली, खाक्चीराङ्ग, डढुवा, छिनामचोक, वैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ वटा टोल समेटिनेछन् । पोखरीडाँडामा सङ्कलन गरिएको पानीलाई ६ स्थानमा ट्याङ्की निर्माण गरी वितरण गरिनेछ ।
अहिले उपभोक्ताको घरसम्म पाइप बिछ्याउने तथा मटर जडानको कार्य भइरहेको छ । महाभारत क्षेत्रको खानेपानी समस्या समाधानका लागि लिफ्टिङको विकल्प नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डल वताउनुहुन्छ । योजनालाई चाँडो निर्माण सम्पन्न गराउने गाउँपालिकाले खानेपानीको मुहानसम्म करिब डेढ किलोमिटर सडक सरसफाइ तथा ट्याक खोल्ने काम गरिदिएको थियो ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले निर्माण सुरु भएको लामो समय बित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय बासिन्दा निराश भएपछि पटक पटकको ताकेतामा योजना सम्पन्न गर्न सफल भएको हो । “खानेपानीको चरम समस्याका कारण बसाइँ सर्नुपर्ने स्थितिसम्म आएको थियो अब यो क्षेत्रमा त्यो समस्या हट्नेछ गाउँलेलाई सहज हुनेछ,” पालिका अध्यक्ष राई भन्नुहुन्छ ।