बागलुङ – बागलुङमा उत्पादित किवी अन्य जिल्लामा खपत हुन थालेको छ। अन्य जिल्लामा किवीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किवी अन्यत्र निर्यात हुन थालेको छ।
मूल्यमा गिरावट आए पनि किवी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ। जिल्लामा उत्पादन भएको किवी बुटवल,काठमाडौं र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ।
विदेशमा समेत प्रशस्त उत्पादन हुने किवी बहुगुणी फलमध्येमा पर्छ। काठेखोला गाउँपालिका(५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किवी बुटवल र काठमाडौंसम्म लैजान थालिएको छ। उनले किवी बिक्री गर्न थालेको दुई वर्ष भएको छ। कँडेलको १२ रोपनी क्षेत्रफलमा किवीखेती छ।
यस्तै काठेखोला(७ का वडाध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका(९ का वडाध्यक्ष राजु थापाले समेत यो वर्ष किवी बजारमा पठाएका छन्। एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किवीप्रति यहाँका किसानको आकर्षण छ। मूल्य सस्तो भए पनि पोखरा, काठमाडौँ, बुटवल तथा नारायणगढसम्म किवी खपत भइरहेको छ।
यो वर्ष एक हजार केजी किवी काठमाडौंलगायत ठूला सहरमा बजारीकरण गरेको किवी किसान खिमानन्द कँडेलले जानकारी दिए। किवीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको उनको भनाइ छ। प्रतिकेजी ३०० रुपैयाँमा बिक्री हुँदै आएको किवीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित छन्।
पछिल्लो समय बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, खेतीयोग्य जग्गामा काम गर्ने जनशक्ति अभाव भइरहेका सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किवी बनेको छ। किवीको उत्पादन बढेपछि प्रतिकेजी ६०० बाट घटेर ३०० रुपैयाँमा झरेको भए पनि ठूला शहरमा किवीको माग रहेको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।
केही वर्ष अघिसम्म बाहिरी जिल्लाबाट ल्याएर किवी बिक्री गर्दै आएका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँगाउँमा उत्पादन भएको किवी बिक्री गर्न भ्याइनभ्याई भएको बताउँछन्। निसीखोला-४ स्थित लीला घर्तीले १२ रोपनी क्षेत्रफलमा उत्पादन गरेको किवी सोझै बुटवल लगिएको बताउँछिन्। एकपटक गरेको लगानीले वर्षौैँसम्म उत्पादन दिने उनको भनाइ छ।
किवीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ।