Aamsanchar

प्रधानमन्त्रीबारे राष्ट्रपतिको भाइरल भिडियोको वास्तविकता के हो ?

Author Image
बुधवार, पौष १०, २०८१

काठमाडौँ – ‘राष्ट्रपतिको मुखबाट सुन्नुहोस् केपी ओली के कारणले जेल बसेका रहेछन् ?’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित राष्ट्रपति रामचन्द्र पौडेलको एउटा पुरानो भिडियो क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

माथि उल्लेख गरिएझैँ प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा राष्ट्रपतिको भनाइको क्लिपसहित सामाजिक सञ्जालहरूमा भाइरल बनेको हो । उक्त भिडियोमा पौडेलले ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको उल्लेख गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक सहकारी प्रकरणमा फसाउने कार्यमा प्रधानमन्त्री केपी ओली नै रहेको जिकिर गर्दै उनका समर्थकहरूले आलोचना गर्दै आएका छन् । लामिछानेलाई अनावश्यक दुःख दिएर प्रतिशोध साँध्ने काम भएको भन्दै समर्थकहरूले विरोध गरिरहेको बेला रामचन्द्रले ओलीको प्रवृत्तिको आलोचना गरेको विषयलाई पनि समर्थकहरूले उचाल्ने काम गरेका हुन् । तर, सो भिडियो हालैको नभएर ४ वर्षअघि पौडेलले गृहजिल्ला तनहुँमा दिएको अभिव्यक्ति भएको खुलेको छ ।

कोरोनाकाल अर्थात २०७७ मंसिर १८ मा पौडेल तनहुँमा व्यास नगरपालिकाको बुल्दीखोला पुल उद्घाटन गर्न पुगेका थिए भने निषेधित क्षेत्र तोडेको भन्दै केहीबेर उनलाई प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । तीन घण्टा प्रहरीको नियन्त्रणमा परेपछि उनी तत्कालीन अवस्थामा पनि प्रधानमन्त्री रहेका ओलीको चर्को आलोचना गरेका थिए ।

त्यतिबेला कांग्रेसको वरिष्ठ नेता रहेका पौडेलले ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको मात्रै बताएका थिएनन् कम्युनिस्टहरू लोकतन्त्रवादी नहुने समेत जिकिर गरेका थिए । ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेको हो,’ उनको भनाइ थियो, ‘कहाँबाट लोकतन्त्रका लागि बसे ?  रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन।’

उनले थप भनेका थिए, ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो। जोसमा आएर झापा काण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ। केपी ओली मेरा अगाडि कुरा गरूँन् ।’ उनले यस्तो बताउँदा कार्यकर्ताले ताली पड्काएको भिडियोमा सुन्न सकिन्छ । यस्तै उनले राष्ट्रवादको कुरा गर्ने ओलीले तीन घण्टासम्म बालुवाटारमा भारतीय गुप्तचर संस्था ‘रअ’सँग कुराकानी गरेको समेत बताएका थिए । त्यतिबेला ओलीले रअका प्रमुख सामन्त गोयलसँग गोप्य मन्त्रणा गरेको बाहिर आएको थियो ।

झापा काण्डमा तत्कालीन सरकारले ओलीलाई १४ वर्षको जेल सजाय दिएको विषयलाई रामचन्द्रले त्यसरी टिप्पणी गरेका थिए । एमालेले २०२८ सालमा भएको झापा विद्रोहलाई नेपालको कम्युनिष्ट आन्दोलनको एक समयको पानीढलोको रूपमा चित्रित गर्दै आएको छ ।

त्यतिबेला झापामा कम्युनिस्टहरूले तत्कालीन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेका थिए । त्यो समय पञ्चायतको शोषण, दमन र अत्याचारको विरुद्ध राष्ट्रिय स्वतन्त्रता, स्वधिनता तथा जनकेन्द्रीयता लागु गराउन आन्दोलन गर्दा राज्यले दमन गरेको ओलीले बताउँदै आएका छन् । सोही आन्दोलनबाट आएका ओली चार पटक देशको प्रधानमन्त्री बनिसकेका छन् भने जीवनभर लोकतन्त्रकै लाऊि लडेका पौडेल पनि २०७९ फागुनदेखि राष्ट्रपति पदमा विराजमान छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर