गुल्मी- गुल्मीको एक स्थानीय तहले नागरिकलाई निशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ । यस जिल्लाको मदाने गाउँपालिकाले यहाँका नागरिकहरुलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्रबिच सम्झौता गरेको हो । गाउँपालिकाले रक्तसञ्चार सेवा बुटवल भैरहवाको लागि रगत सङ्कलन कार्यमा सहयोग गर्नेछ । गाउँपालिकाका नागरिकहरुको रगत अभावका कारण स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका लागि पालिकाले सम्झौता गरेको हो ।
गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाका संयोजक मित्रलाल न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । यो सम्झौताको अवधि २०८३ असार मसान्तसम्म रहने गाउँपालिका अध्यक्ष कुँवरले बताउनुभयो । प्रत्येक बिरामीलाई प्रति युनिट रगत उपलब्ध गराए बापत रक्तसञ्चार सेवा केन्द्रलाई गाउँपालिकाले ९५० रुपियाँ रकम भुक्तानी गर्ने सम्झौता भएको छ ।
निःशुल्क रगत सेवा लिने व्यक्ति मदाने गाउँपालिकाको बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात (नागरिकता, मतदाता, परिचय–पत्र, चालक अनुमति पत्र, राहदानी पत्र आदि) को प्रतिलिपि विरामीका आफन्तले रक्तसंचार सेवामा रगत वा रक्ततत्व लिन आउँदा पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताउनुभयो ।
आपतकालिन अवस्थामा आकस्मिक रगत लिनुपर्ने भएमा सम्बन्धित व्यक्तिले अन्य कागजात पेश गर्न नसकेको अवस्थामा रगतको शुल्क नगद भुक्तानी गर्ने र पछि कागजात पेश गरेमा नगद फिर्ता गरिनेछ ।
गाउँपालिकाले हरेक वडाहरुमा पालो मिलाई कम्तीमा वर्षको २ वटा रक्त सङ्कलन शिविर रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा आयोजना गर्ने बताइएको छ । मदाने गाउँपालिकाका जनप्रतिनिधि तथा यहाँ कार्यरत कर्मचारीहरुलाई समेत निःशुल्क रगत उपलब्ध गराइनेछ । यो सम्झौताको अवधि २०८३ साल असार मसान्तसम्म हुने भएको छ ।