Aamsanchar

‘उज्यालो यात्रा’तर्फ सन्थाल समुदाय

Author Image
शनिवार, जेठ ६, २०७४

(सुरेन्द्र भण्डारी)

बिर्तामोड।

देशमा भएको परिवर्तनसँगै सन्थाल समुदायको राज्यको निकायमा पहुँच बढ्दै गएको छ । शिक्षा क्षेत्रदेखि राज्यका विभिन्न निकायमा उनीहरुको पहुँच बढ्दै गएको हो । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्व कालदेखि बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ जाति ।
नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजाति मध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार, संस्कृति, भेषभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो जाति धनी छ । आफूलाई प्रकृतिका पूजारी मान्ने यो समुदायले सालको रूखलाई पवित्र मान्दछ । बिष्णुलाई प्रमुख देवता मान्ने यो समुदायले पूजा गर्ने स्थानलाई ‘मान्झिथान’र ‘जाहेरथान’भन्दछन् । यो समुदायमा गाउँमा एउटा मुखिया हुन्छ त्यसलाई‘मान्झिहाडाम’ भनिन्छ । तीर धनु यो जातिको प्रमुख हतियार हो । सन्थाल जातिमा बाह्र वटा थरहरू हुन्छन् । १२ थरहरुबाटै यो जातिलाई सन्थाल हो भनेर पहिचान गर्न सकिन्छ ।
सन्थाल जातिले बोल्ने भाषालाई ‘सन्थाली’ भनिन्छ । सन्थालहरूको आफ्नो लिपि छ । जसलाई ‘अल सिकी÷अल चेमेत्’ भनिन्छ । यस लिपिको अविष्कार पण्डित रघुनाथ मुर्मूले गरेका हुन् । यसले सन् १९२० मा वैज्ञानिक मान्यता पाएको बताइन्छ । अल सिकीमा जम्मा ३० वटा वर्ण रहेका छन् । जसमा ६ वटा स्वर वर्ण र चौबीस वटा व्यञ्जन वर्ण छन् । यहींबाट सन्थालले बोल्ने सम्पूर्ण शब्दहरूको निर्माण गरिन्छ ।
आफ्नै छुट्टै भाषा र लिपि भए पनि यो समुदायले नेपाली भाषा प्रयोग गर्ने गर्दछ । केही वर्ष अघिसम्म जमिन्दारका रुपमा चिनिने सन्थाल समुदाय अहिले अति सीमान्तकृत जातिमा पर्छ । शिक्षा क्षेत्रमा पछि परेको यो समुदाय विस्तारै अहिले शिक्षाको उज्यालो यात्रातर्फ लम्कँदैछ । २०६८ सालको जनगणनामा यो समुदायको जनसंख्या ५१ हजार ७ सय ३५ रहेको थियो । त्यसमा पनि शिक्षित सन्थाल समुदाय त झनै कम छन् ।
अति सीमान्तकृत समुदायबाट मोहन टुडू नेपालका एक मात्र सांसद् हुन् । झापाको हल्दिबारी–७ घर भएका टुडू माओवादीको कोटाबाट सांसद बनेका हुन् । उनी जस्तै सन्थाल समुदायबाटै कानूनमा स्नातक गरेका विश्वदीप बेस्रा अहिले प्रधानमन्त्रीको कार्यालयमा कार्यरत छन् । उनी अधिकृत हुन् । उनीसँगै सन्थाल समुदायबाटै लेखापालका रुपमा कार्यरत छिन् झापा राजगढ–५की सुनीता सोरेन । उनी अहिले मेचीनगर नगरपालिकाको लेखापाल हुन् । उनका श्रीमान् जीसु मुर्मु पनि खरदार छन् । उनी पनि कनकाई नगरपालिकामा कार्यरत छन् ।
सन्थाल समुदायबाट सरकारी निकायमा काम गर्ने थोरैमात्रै छन् । त्यसमा पनि महिलाको संख्या त ज्याँदै न्यून रहेको बताउँछिन्– सीमलवाडी आधारभूत विद्यालयकी शिक्षक तलू बास्के । वास्के सञ्चारकर्मी पनि हुन् । वास्केका अनुसार सुफल सोरेन अरनीको उच्च माध्यमिक विद्यालयका शिक्षक छन् । त्यस्तै सुन्दर वेस्रा टाघनडुब्बामा प्रधानाध्यापक छन् । वडाराम हेमरम गरमकाली स्कूल गोलधापका र भूपेश मर्डी देवी माविका शिक्षक हुन् भने बद्री हेमरम बिर्तामोड नगरपालिकामा प्राविधिकका रुपमा कार्यरत छन् । देवीलाल मर्डी सीता प्रावि पृथ्वीनगरमा कार्यरत छन् ।
ज्याँदै न्यून संख्यामा सरकारी सेवामा रहेका यो समुदाय शिक्षाको अवसर नपाउँदा वहिष्करणमा परेको मेचीनगरपालिकाकी लेखापाल सुनिता बताउँछिन् । उनी भन्छिन् – ‘हाम्रो समुदायमा पनि विस्तारै पढ्नुपर्छ भन्ने चेतनाको विकास हुँदैछ ।’ एसएलसीसम्मको शिक्षा पुहाँतु जनज्योति माविबाट पूरा गरेपछि शहीद दशरथ मावि चारआलीबाट सुनीताल कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । अहिले उनी त्रिदेव क्याम्पस चारआलीबाट स्नातक गरिरहेकी छिन् ।
समुदायकै उदाहरणीय महिलाको रुपमा चिनिएकी सुनीता शिक्षामा जोड दिन समस्त सन्थाल समुदायलाई आग्रह गर्छिन् । उनी जागिरबाट फुर्सद निस्कनासाथ गाउँ पसेर आफ्नो समुदायका नानीहरूलाई पढ्न हौसला दिने गर्छिन् । राजगढ–५ घर भएका उनका पति जिसु रेडियोकर्मी पनि हुन् । उनले धुलावारीको रेडियो सरगममा समाचार सम्पादकको जिम्मेवारी समेत सम्हाल्न भ्याए । उनी भन्छन्– प्रतिस्पर्धा गर्न नसके कुनै समुदाय विशेषलाई भनेर दिएको आरक्षण कोटाले मात्र केही हुँदैन, प्रतिस्पर्धा त देश विकासका लागि पनि चाहिन्छ ।’

Views: 245

प्रतिक्रिया (०)