(नरेन्द्र ढकाल)

झापा।

झापाबाट ७ सय २३ जना जनप्रतिनिधि चयन हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार ८ नगरपालिका र ७ गाउँँपालिकाबाट आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट ७ सय २३ जना जनप्रतिनिधि चयन हुने भएका हुन् ।
झापामा २ सय ८३ स्थायी मतदान स्थल र ६ सय ३७ वटा केन्द्रहरु रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए । उनका अनुसार झापामा निर्वाचन सम्पन्न गर्नका लागि ५ हजार ८ सय कर्मचारी खटिनेछन् । झापाका हाल मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र जेठ २६ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने आचार्यले बताए । उनका अनुसार निर्वाचनका सम्पूर्ण सामग्रीहरु जिल्ला निर्वाचन कार्यालय झापामा आइपुगेको छ ।
झापाका सबै स्थानमा निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना भएर काम सञ्चालन भएको र शनिवारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आएको आचार्यले बतए । झापामा शान्त र सौहार्दपूर्ण वातावरणमा निर्वाचनका कार्यक्रम अगाडि बढिरहेको आचार्यले बताए । पहिलो चरणको निर्वाचनको समयमा नै सबै तयारी तीब्र गरेर अगाडि बढेकाले केही सुस्त रहेको निर्वाचन कार्यालय पुनः सक्रिय भएको उनको भनाइ छ । आचार्यका अनुसार झापामा मतपत्र बदर नहोस् भन्ने हेतुले मतदाता शिक्षा कार्यक्रमलाई बढी प्राथमिकता दिइएको छ ।
निर्वाचनमा पूर्वाञ्चलका ३३ लाख ३७ हजार ६ सय २१ जना मतदाताले भोट हाल्ने पाउने भएका छन् । जसमा १६ लाख ९२ हजार ८ सय ८१ जना पुरुष र १६ लाख ४४ हजार ७ सय १२ जना महिलाले जनप्रतिनिधि चयनका लागि मतदान गर्ने छन् । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार ३३ लाखभन्दा धेरै मतदाताले तीन उपमहानगरसहित ६३ नगरपालिका, एक सय ६ गाउँपालिका र एक सय ६९ स्थानीय तहमा प्रतिनिधि छनौट गर्न मतदान गर्ने भएका छन् । सञ्जेलका अनुसार मोरङ र सिराहामा सबैभन्दा धेरै १७–१७ स्थानीय तहमा निर्वाचन हुनेछ ।
प्रदेश नम्बर २का सप्तरी र सिराहाको समेत समाहित गरिएको मतदाता विवरण प्रदेश १मै समावेश गरी शनिबार सार्वजनिक गरेको हो । नयाँ विवरण अनुसार साविक पूर्वाञ्चलमा मतदाता संख्या ३३ लाख ३७ हजार ६ सय २१ जना पुगेका बताइएको छ । नयाँ मतदाता विवरण अनुसार झापामा मतदाताको संख्या ५ लाख १० हजार २ सय १६ रहेको छ । पूर्वमा सबैभन्दा धेरै मतदाता मोरङमा रहेको बताइएको छ । मोरङमा ५ लाख ६३ हजार ८ सय ७० जना मतदाता रहेका छन् भने सबैभन्दा थोरै तेह्रथुममा ६० हजार ७ सय ४ जना मतदाता रहेका छन् ।
सुनसरीमा मतदाताको संख्या ४ लाख २१ हजार १ सय ५९ जना रहेको जनाइएको छ । स्थानीय तह पुनर्संरचना आयोगले तेह्रथुममा जम्मा ६ स्थानीय तह कायम गरेको छ । सिराहामा ३ लाख ३१ हजार ५ सय ९६ र सप्तरीमा ३ लाख ३१ हजार ४ सय ६२ जना मतदाता रहेका छन् ।
कार्यालयका अनुसार इलामको १० तहमा १ लाख ८९ हजार ७४, उदयपुरको ८ स्थानीय तहमा १ लाख ७५ हजार ४ सय ६१, ओखलढुंगाका ८ तहमा ९१ हजार ५ सय ८, खोटाङमा १० स्थानीय तहमा १ लाख १५ हजार ६ सय ४४, ताप्लेजुङमा ७० हजार ७ सय ७८, धनकुटामा ७ तहमा ९५ हजार ३ सय ६७, पाँचथरमा ८ तहमा १ लाख १६ हजार ६ सय २६, भोजपुरमा ९ स्थानीय तहमा १ लाख ५ हजार ५ सय ५३, संखुवासभामा १० तहमा ९६ हजार ६ सय ५७ र सोलुखुम्बुमा ८ तहमा ६१ हजार ७ सय ४६ जना मतदाता रहेको जनाइएको छ ।

प्रदेश नम्बर–१ का १४ जिल्लाका ३ उपमहानगरसहित ४९ नगरपालिका, ८७ गाउँपालिका रहेका छन् । जसमा मतदाताको संख्या २६ लाख ७४ हजार ५ सय ५७ रहेको निर्वाचन आयोगले जनाएको छ ।

