Aamsanchar

सरकारी रकमको खोजी गर्न पत्रकारलाई सुझाव

Author Image
आइतवार, जेठ ७, २०७४

बिर्तामोड।

पत्रकारले अब सरकारी पैसा कता गइरहेको छ र कसरी खर्च भइरहेको छ– त्यसको विषयमा खोजमूलक सामग्री सम्प्रेषण गर्नुपर्नेमा शनिवार झापाको बिर्तामोडमा आयोजित एक कार्यशालामा विज्ञहरुले सुझाव दिएका छन् ।
समृद्धि नेपालका लागि दीगो आर्थिक विकास विषयमा पूर्व क्षेत्रका पत्रकारहरुको लागि आयोजित कार्यशालामा विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् ।अर्थमन्त्रालयको आयोजना र पत्रकार महासंघ झापाको संयोजनमा भएको कार्यशालामा सरकारी बजेटलाई सदुपयोग गर्न र समयमै खर्च गर्ने संस्कारको विकास गराउन अब पत्रकारहरुले सरकारी पैसाको पछि लाग्नुपर्नेमा समेत जोड दिइयो । अहिलेसम्म सञ्चारमाध्यममा फलानोले यसो ग¥यो, भन्यो, बताए जस्ता मात्र सामग्री सम्प्रेषण हुँदै आएकोमा अब मुलुकको समृद्धिका लागि पत्रकारिताको शैली परिवर्तन गर्नुपर्ने विज्ञको सुझाव थियो ।
हरेक बर्ष विकास बजेटको ८० प्रतिशतभन्दा बढी खर्च हुन नसकेको र त्यसमा पनि १० महिनामा बढीमा ३० प्रतिशत मात्र खर्च हुने गरेको बताउँदै कार्यशालाका सहजकर्ताहरुले अधिकांश बजेट आर्थिक बर्ष समाप्त हुनै लाग्दा जेठ र असारमा मात्र खर्च हुने गरेको जनाए । हतारमा यसरी बजेट खर्च हुँदा सही रुपमा विकास र बजेटको सदुपयोग हुन नसक्ने बताइएको छ । अहिले मुलुकको ढिकुटीमा २ खर्बभन्दा बढी बजेट थन्किएको छ ।

अब स्थानीय तहको निर्वाचनसँगै गाउँ–गाउँमा सिंहदरबारको अधिकारसँगै केन्द्रीय बजेटको ७० प्रतिशत हिस्सा पनि गाउँमै आउने भएकाले पत्रकारले आर्थिक बर्ष र विकासको क्षेत्रमा खोज अनुसन्धान गर्नुपर्ने बताइएको छ । सहजकर्ताहरु प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, शिव गाउँले, रासस सञ्चालक समितिका सूर्यचन्द्र बस्नेत, अर्थमन्त्रीका प्रेस सल्लाहकार त्रिभुवन पौडेल र आर्थिक पत्रकार समाजका पुष्प दुलालले उक्त कार्यशालाको सहजीकरण गरेका थिए ।
महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एकराज गिरीले धन्यवाद ज्ञापन गरेका थिए । सहसचिव केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहभागीको तर्फबाट सिराहाका दिनेश्वर गुप्ताले मन्तव्य राखेका थिए । कार्यशालामा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र सिराहाका ५० भन्दाबढी पत्रकारको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर