वीरगन्ज – पर्साको जगरनाथपुर गाउँपालिका-४ मा अवस्थित पाडा बजारबाट सशस्त्र प्रहरीले एक ट्रक भैंसी र पाडा नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएको भैंसी र पाडाहरू ट्रकमा लोड गरेर बाराको जितपुर हुँदै काठमाडौं पठाउने तयारी भइरहेको सूचना स्थानीयवासीले सशस्त्र प्रहरीलाई दिएका थिए। त्यसपछि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भीखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङको नेतृत्वमा खटिएको टोलीले ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैंसी र पाडासहित दुई जना मानिसलाई पनि नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रकमा ११ वटा भैंसी र ९ वटा पाडा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए। नियन्त्रणमा लिइएका दुई जना व्यक्तिको नाम भने खुलाइएको छैन। भारतबाट भन्सार राजश्व छलेर अवैध रुपमा भित्र्याइएको आशंकामा भैंसी र पाडासहितको उक्त ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गुरुङले बताए। नियन्त्रणमा लिइएका भैंसी र पाडा जितपुरका कारोबारी सदाब हुसेनको रहेको अनुसन्धानका क्रममा खुलेको गुरुङले बताए।
नियन्त्रणमा लिइएको भैंसी र पाडासहितको ट्रक आवश्यक कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए।