बिर्तामोड । अर्जुनधाराको भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधानको प्रयासमा स्थानीय सरोकारवालाहरू र जनप्रतिनिधिहरूबीच छलफल भएको छ। अर्जुनधारा ११ स्थित बिर्तामोड बसपार्कको जग्गालगायतका भूमि समस्या समाधानको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सभामुख देवराज घिमिरेले समस्या समाधानको प्रतिबद्धता जनाउँदै भूमिसम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिइने बताएका छन्।
कार्यक्रममा भूमिसम्बन्धी अर्जुनधाराका फोकल पर्सन वीरबहादुर राईले यसअघि सभामुखले दिएका आश्वासन कार्यान्वयनमा आउन नसकेको गुनासो राखेका थिए। “हामीले पटकपटक आवाज उठाउँदा पनि कुनै ठोस परिणाम देखिएको छैन,” उनले भने। यस्तै, स्थानीय बासिन्दाहरूको तर्फबाट सुजन शिवाकोटीले ज्ञापनपत्र बुझाउँदै समस्याको दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरे।
समस्याको दीर्घकालीन समाधानको माग
स्थानीयवासीहरूले भूमिसम्बन्धी समस्या समाधान नहुँदा दैनिक जीवनयापनमा बाधा पुगेको बताएका छन्। शिवाकोटीले समस्याको सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। “हामी वार्तामा विश्वास गर्छौं, तर दीर्घकालीन समाधान नभए आन्दोलन गर्न बाध्य हुनेछौं,” उनले भने।
“राजनीतिलाई कमजोर पार्ने प्रयास नगरौं” – सभामुख घिमिरे
कार्यक्रममा उपस्थित सभामुख घिमिरेले स्थानीय नेतृत्व र जनप्रतिनिधिहरूलाई एकीकृत रूपमा समस्याको समाधान खोज्न आह्वान गरे। “राजनीतिक नेतृत्वलाई हल्का रूपमा टिप्पणी गर्दा समस्या समाधानका लागि चाहिने सहकार्यमा बाधा पर्छ,” उनले भने।
सभामुख घिमिरेले भूमिसम्बन्धी समस्यामा राजनीति भन्दा माथि उठेर सहकार्यको आवश्यकता औंल्याए। “यो चुनावी मुद्दा होइन, दीर्घकालीन समस्या समाधानको विषय हो। सबै पक्ष मिलेर अघि बढ्नुपर्छ,” उनले भने।
सहकार्य र समाधानको अपेक्षा
कार्यक्रममा सभामुख घिमिरेले सरोकारवालाहरूको आवाज सुनेर समाधानका लागि ठोस कदम चाल्न सरकार र सम्बन्धित निकायलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरे। “स्थानीयवासीका समस्याहरूलाई बेवास्ता गर्नु हुँदैन। हामी चाँडै नै समाधानका उपाय अघि ल्याउँछौं,” उनले थपे।
भूमिसम्बन्धी समस्या समाधानमा स्थानीय तह, जनप्रतिनिधि, र सम्बन्धित निकायबीच समन्वयको खाँचो रहेको सरोकारवालाहरूले औंल्याएका छन्। यस्तो छलफलले समस्या समाधानतर्फको प्रयासलाई गति दिने अपेक्षा गरिएको छ।