बिर्तामोड।
झापा शनिश्चरेकी रामकुमारी माझी आइतबार निकै हर्षित देखिइन् । उनी गर्भवती छिन् । विपन्न आर्थिक अवस्थाका कारण सहज रुपमा प्रसूति गराउन चिन्तित उनले २१ हजार रुपैयाँ सहयोग पाएपछि उनको हर्ष अनुहारमा देखिन्थ्यो ।
उनीसँगै हिमा मिश्र निरौला पनि उत्तिकै खुशी देखिइन् । ती दुई गर्भवती विपन्न महिलालाई आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा स्वास्थ्य रक्षा आर्थिक सहयोग प्रदान गरियो । यशोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड–६ले दुबै महिलालाई जनही २१ हजार रुपैयाँ प्रदान गरेको हो ।
दुई वर्षअघि प्रसूतिकै क्रममा यशोदाले ज्यान गुमाएकी थिइन् । निरौला परिवारले आफ्नी बुहारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरेर मानवीय सेवा पु¥याउने कार्यको थालनी गरेको छ । यो वर्ष उनको दोस्रो स्मृति सभामा रामकुमारी र हिमाको प्रसूति सफलताको कामनासहित सहयोग प्रदान गरिएको थियो ।
सोही समारोहमा पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई समेत २१ हजार रुपैयाँ प्रतिष्ठानले प्रदान गरेको थियो । त्यस्तै अर्जुनधारा जलेश्वरधाम गुरुकुल अक्षयकोषका लागि धर्मसंस्कारको जगेर्ना र प्रोत्साहन गर्न प्रतिष्ठानले एक लाख रुपैयाँ प्रदान गरेको थियो । धामका अध्यक्ष नवीन गट्टानीलाई प्रतिष्ठानका अध्यक्ष नन्दिकेशर निरौलाले उक्त रकम प्रदान गरे ।