बिर्तामोड।
नेकपा माओवादी केन्द्रले बिर्तामोड नगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवार छनौट गरेको छ ।
मेयर पदमा पार्टीले केन्द्रीय सदस्य तथा युवा नेता सीपी कडरिया र उपमेयरमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको हो । पार्टीको मंगलवार बसेको वैठकले कडरिया र न्यौपानेलाई मेयर तथा उपमेयरको उम्मेदवारमा छनौट गरेको बताइएको छ ।सामाजिक क्षेत्रमा दुवै उम्मेदवार सक्रिय छन् । कडरिया विकासप्रेमी युवा नेता मानिन्छन् । सरु अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्व अध्यक्ष हुन् ।
उता दमकको मेयर पदमा पार्टीका क्षेत्रीय इञ्चार्ज गगन पुरी (रेवतराज) ले आफ्नो उम्मेदवारी दुई महिना अघि नै घोषणा गरेका थिए । दमकको उपमेयर पदमा आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव समेत रहेकी शान्तिदेवी धिमाललाई उम्मेदवार चयन गरिएको छ । योसँगै दमकका सबै वडा तहका उम्मेदवारको टुंगो लागेको पार्टीले जनाएको छ ।
कमल नगरपालिकामा माओवादी केन्द्रले अधिवक्ता विमल संग्रौलालाई मेयर र उपमेयरमा गौरी राईलाई उम्मेदवार बनाएको छ । त्यस्तै गौरादह नगरपालिकामा नगर इञ्चार्ज पुष्प ढकाललाई मेयर र अर्पना राजवशींलाई उपमेयरको उम्मेदवार बनाएको पार्टीका नगर सहसंयोजक कुमार खतिवडाले जानकारी दिए ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने बताइएको छ ।
यता शिवसताक्षी नगरपालिकामा माओवादी केन्द्रले अखिल क्रान्तीकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराई मेयरको उम्मेदवारको रुपमा चर्चामा छन् ।
भद्रपुरको मेयरमा शिवराज राजभण्डारी र उपमेयरमा स्वर्णीका सिंह, मेचीनगर नगरपालिकाको मेयरमा हंशलाल राजवंशी र उपमेयरमा इन्दिरा कार्की (आयुष) कचनकवल गाउँपालिकाको अध्यक्षमा हंशनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइने र शनिअर्जुन नगरपालिकाको मेयरमा भुपेन्द्र न्यौपाने र उपमेयरमा अस्मिता तामाङलाई उम्मेदवार बनाएको माओवादी स्रोतले जनाएको छ ।
हल्दिबारी गाउँपालिका अध्यक्षमा तुलसी ओलीको नाम चयन भएको छ । बुद्धशान्ति, बाह्रदशी र कनकाई नगरमा जेठ १० गतेभित्र उम्मेदवारको टुंगो लगाउने माओवादीको तयारी रहेको बुझिएको छ । यसैबीच माओवादीले झापा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ६ वडाका वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारी घोषणा गरेको छ ।
पार्टीले झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाँईलाई र उपाध्यक्षमा पवित्रा राजवंशीलाई उम्मेदवार बनाएको छ यसैगरी वडा नं. १को वडाअध्यक्षमा जोलिम मिया, वडा नं. २मा तेजनारायण राजवंशी, वडा नं. ३मा देवीप्रसाद अधिकारी, वडा नं. ४मा मुस्तफा मिया वडा नं. ६मा योगराज मैनाली र वडा नं. ७ मा दिलीपकुमार दासलाई वडाअध्यक्षको उम्मेदवारी घोषणा गरिएको पार्टीका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सन्देशले बताए ।
उम्मेदवार बनेका सबैलाई नेकपा माओवादी केन्द्र प्रदेश नं. १का इञ्चार्ज समेत रहेका सावित्रीकुमार काफ्ले समरले पार्टीको झण्डा र व्याज प्रदान गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानु बुढाथोकी लगायतले बोलेका थिए ।