दमक।
झापाको दमक उद्योग वाणिज्य संघका कार्यसमितिका तीन जना सदस्य आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्ने भएका छन् ।
संघका तृतीय उपाध्यक्षसमेत रहेका ताराप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दमक–१ को वडा अध्यक्षमा, संघका कार्य समिति सदस्य नवीन अग्रवालले दमक–६ बाट राप्रपाबाट वडा सदस्य पदमा र संघका कार्यसमिति सदस्य राजु खड्काले नयाँ शक्ति पार्टीबाट दमक–६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
जेठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी चहलपहल बढ्दै गएको छ । चुनावी चहलपहल बढेसँगै नगरमा उम्मेदवारको घोषणा हुनेक्रम पनि बढ्दो छ ।
दमक नगरमा हालसम्म नेकपा (माओवादी केन्द्र) तथा राप्रपाले प्रमुख, उपप्रमुखसहित वडा तहका सबै उम्मेदवार घोषणा गरिसकेका छन् भने कांग्रेस र एमालेले जेठ १२ गतेसम्म औपचारिक रुपमा नगरका उम्मेदवार घोषणा गरिसक्ने जनाएका छन् ।