
(पार्थ मण्डल)

भद्रपुर ।
भद्रपुर नगरक्षेत्रका सडक व्यवस्थापनको लागि निर्माण भइरहेको कालोपत्रे (पिच) सडक निर्माण व्यवसायीले तोकिएको मापदण्ड विपरित बनाउदै गरेको पाइएको छ ।

सडक बोर्डबाट प्राप्त बजेट मार्फत भद्रपुर नगरपालिकाले ठेक्का प्रक्रिया मार्फत गराउदै आएको बजार जोड्ने नगरको मुख्य सडकको निर्माणकार्य नै तोकिएको मापदण्ड विपरित बन्न थालेपछि नगरबासीले नगरपालिकाको काम प्रति आवाज उठाउन थालेको छ । असार २५ गते निर्माण कार्य सम्पन्न गर्ने भनि नगरपालिकाले जय इश्वरी निर्माण सेवा भद्रपुरका सञ्चालक कल्याण डागीको कम्पनीको नाममा द्रोणराज सुवेदीलाई सडक निर्माणको ठेक्का दिएको नगरपालिकाले जनाएको छ ।
एकमुष्ट पाँच वटा सडक मध्ये हाल निर्माणधिन अवस्थामा रहेको संगमचोकदेखि भद्रपुर बजार हुदै भन्सार छेऊ सम्मको १९ सय मिटरको सडक कालोपत्रेको काम भइरहेको छ । कालोपत्रे सडक माथि पुनः कालोपत्रे गराउने काम हुदैछ । निर्माण व्यवसायी सुवेदीले नगरपालिकाले तोकेको इस्टमेट अनुसार काम नगरेको स्थलगत अनुगमनको क्रममा फेला परेको छ । यसप्रति नगरपालिका कर्मचारीले पनि खासै चासो देखाएको छैन् । निर्माण व्यवसायीले आफुखुशी काम गरिरहेका छन् । निर्माणधिन कालोपत्रे ४० एमएम मोटाई हुनुपर्नेमा हालसम्म निर्माण भएको सडक २० देखि २५ एमएम मात्र मोटाई रहेको छ ।
एक इन्च सम्मको फुटाएको गिट्टीबाट कालोपत्रे बनाउनुपर्नेमा नफुटाएको गिटटीको मात्रा बढी प्रयोग गर्दै आएको छ । कालोपत्रे निर्माणसगै सिलकोट गर्नुपर्ने मापदण्ड छ, तर निर्माण व्यवसायीले कालोपत्रे बनाएपनि सिलकोट गरेको देखिदैन । निर्माण भएको कालोपत्रेको बिच बिच भाग अहिले नै खाल्डो परे जस्तो देखिन्छ । गुणस्तरहिन सडक निर्माण भएकोले अहिले सडकमा बर्खाको पानी जम्न थालिसकेको छ । सडकमा पानी जम्दा सडक नै टिकाउ नहुने सरोकारवालापक्षको भनाई छ । स्थानीय भन्छन– ‘घर बनाउदा ढलाई गर्ने गिटटी प्रयोग गरेर नगरपालिकाले सडक पो ढलाई गर्दैछ ।’ अहिले सम्म यस्तो पिच नगरमा काही बनेको छैन, यो निर्माण कार्य सरकारी मापदण्ड विपरित बन्दैछ, उनले बताए ।
निर्माण व्यवसायी सुवेदीले यो सडकसहित साविक भद्रपुर ९ र १० जोडने क्याम्पसमोडको ३६५ मिटर सडक, साविक भद्रपुर १० कै टालीटोल ३६५ मिटर सडक, सोही वार्डको केदार चापागाई घर अगाडीको ३६० मिटर सडक र भद्रपुर ८ को नागरिक एफएम उत्तर पर्ने धुलावारी जोडने ३५५ मिटर सडकको ठेक्का लिएको छ । १ करोड २० लाख २० हजार ८ सय ४४ रुपैयामा लागत इस्टिमेटमा नगरपालिकाले सूचना जारीको ठेक्का निर्माण व्यवसायी सुवेदीले साढे ३८ प्रतिशत बिलो हालेर ७३ लाख ९२ हजार ७ सय ५३ रुपैया ठेक्का लिएको छ ।
निर्माण भइरहेको सडक ४० एमएमसहित सिलकोट हुने र यस बाहेक अन्य सडकको मोटाई २० एमएम र सिल्कन प्रयोग गर्नुपर्ने इस्टीमेटमा रहेको नगरपालिकाका इन्जिनियर योगेन्द्र रजितकारले बताए । हाल निर्माण भइरहेको सगमचोकदेखि भन्सार सम्मको बाटोमा सिलकोट नगरेकोले सडक बिग्रीए जस्तो देखिएको उनले बताए । सिलकोट हालेपछि सडक मजबुत हुने उनको भनाई छ । ४० एमएम मोटाईको बारेमा जिज्ञासा राख्दा उनले भने– यस बारेमा स्थलगत अनुगमन गरे मात्र थाहा हुने बताए ।

