Aamsanchar

शौचालय बनाउन सहयोग गर्नेलाई भोट

Author Image
मङ्गलवार, जेठ १६, २०७४

बिर्तामोड।

नेपाललाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त बनाइने भन्दै देशभर विभिन्न कार्यक्रम सञ्चालन भए । झापामा पनि यो अभियानलाई सफल बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिए । यसै पनि झापा सुगम र शिक्षित जिल्लाका रुपमा चिनिन्छ । तर, यो जिल्ला अहिले सम्मपनि खुला दिसामुक्त हुन सकेको छैन ।
झापाका धेरै ठाउँमा रहेका बस्ती नै शौचालयविहीन छन् । कमल गाउँपालिका–१को दक्षिणी क्षेत्र माझ गाउँमा रहेको सन्थाल बस्ती नै अझैसम्म शौचालयविहीन रहेको छ । १२ वर्ष अघिबाट बसोबास गर्दै आएका सुकुम्बासी सन्थालहरुले अहिलेसम्म खोलामै दिसा पिसाब गर्ने गरेको बताएका छन् । यो क्षेत्रमा २५ घर परिवार भूमिहीन रहेका छन् उनीहरुले गरिबीकै कारण शौचालय बनाउन नसकेको बताउँदै आएका छन् । आफूहरुलाई गाउँपालिका र कुनै सरकारी निकायले शौचालय बनाउन सहयोग नगरेको उनीहरुको गुनासो छ ।
गरिबीकै कारण अझैसम्म शौचालय बनाउन नसकेर खोलालाई नै शौचालयको रुपमा प्रयोग गर्नु परेको सुनाउँछिन्– कमल गाउँपालिका–१की सोनी सोरेन । उनी भन्छिन्– ‘हामीलाई पनि खोलामा दिसा पिसाब गर्ने मन त थिएन नि तर, चर्पी बनाउन पैसा छैन, त्यसैले खोलामा नै दिसापिसाब गर्नु परेको छ ।’ खोलामा दिसापिसाब गर्दा धेरै समस्या रहेको उनी बताउँछिन् । उनी भन्छिन्– ‘खोलामा दिसापिसाब गर्न धेरै गाह्रो छ, राति जानलाई हामीलाई धेरै गाह्रो हुन्छ, अब त बर्खा पनि लाग्यो खोलामा बाढी आउँछ ।’
आफूहरुलाई शौचालय बनाउन सहयोग गर्ने भन्दै नेताहरु भोट माग्नसमेत आउन थालेको स्थानीय साइँला हस्दा बताउँछन् । उनी भन्छन्– ‘पहिला पनि हामीले धेरैपटक भोट हाल्यौं, हामीलाई धेरै आश्वासन दिए, हाम्रा सबै समस्या समाधान गर्छौं भने तर अहिलेसम्म गाउँ फर्केका छैनन् ।’ अब आफूहरुसँग भोट माग्न आउनेले पहिला समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छन्– ‘अब त अति नै भयो हाम्रो भोट चाहिने नेताहरुले हाम्रा माग चुनाव अघि नै पूरा गर्नुपर्छ । हामीले त्यस्ता ठूलो माग केही गरेका छैनौं, चुनावमा भोट माग्न आउनेले सबैको शौचालय बनाउन सहयोग गर्नुपर्छ’– उनले भने ।
अझै पनि दैनिकी चलाउन अर्काकै घरमा मजदुरी गर्नुपर्ने कारण आफूहरु सधैं गरिब बनेको स्थानीय सन्थाल बाबुलाल टुडू बताउँछन् । उनी भन्छन्– अहिले धेरै कुरामा हामी पछाडि परेका छौं, शिक्षा, स्वस्थ्यलगायत क्षेत्रमा हामी पछाडि नै छौं । आफ्नो जग्गा नभएकाले एक छाकखान अरुकै घरमा गोठाला बस्नुपर्छ, अनि कसरी चर्पी बनाउने ? बालबच्चा स्कूल पढाउने ?, हामीलाई रोजगारको एक भरपर्दो माध्यम हुनुपर्छ । आफूहरुको बसोबास रहेको ठाउँ धेरै विकट रहेको उनी बताउँछन् । उनी भन्छन्– ‘हामी धेरै विकट ठाउँमा बसेका छौं, काम गर्न जाने ठाउँमा खोलाले छेक्छ, बिजुली छैन, बाटो छैन, यो चाहिँ कसले हेर्दिने, भोट मात्र दिएर के गर्नु हाम्रो समस्या जहीँको त्यहीं हुन्छ ।’

Views: 154

प्रतिक्रिया (०)