



धनुषा- धनुषामा चारदिनदेखि हराइरहेका एक पुरुषको शव इनारमा फेला परेको छ । मिथिला नगरपालिका–८ गुम्बा टोल बस्ने जमान सिंह घिसिङको छोरा अन्दाजी ३३ वर्षीय नारायण घिसिङको शव घर छेउकै इनारभित्र भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

जमान सिंहका अनुसार छोरा नारायण चारदिनदेखि सम्पर्कविहिन रहेका थिए । उनको खोजी गरिरहेकै अवस्थामा सोमबार इनारबाट दुर्गन्ध आएपछि इनारभित्र टर्च बालेर हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।


घटनाबारे सोमबार साँझ जानकारी प्राप्त भए पनि अध्यारोका कारण शव बाहिर निकाल्न सम्भव नभएपछि मंगलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको प्रहरी निरीक्षक यादवले बताए । शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पताल पठाएर अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

