Aamsanchar

नेपालको राजनीतिक भविष्यलाई सुनिश्चित गर्न नयाँ शासकीय स्वरूपबारे बहस आवश्यक : विप्लव

Author Image
मङ्गलवार, चैत ५, २०८१

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकमा स्थिर सरकार आवश्यक रहेको बताएका छन्। उनका अनुसार, पाँच वर्षसम्म एउटै सरकार सञ्चालन हुने व्यवस्था हुनुपर्छ, जसले राजनीतिक अस्थिरता अन्त्य गर्न मद्दत गर्नेछ।

झापाको बिर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै विप्लवले बारम्बार सरकार परिवर्तन हुँदा जनता थाकेको उल्लेख गरे। उनले वर्तमान शासकीय स्वरूप पुनरावलोकन गर्दै नयाँ संरचना अपनाउनुपर्नेमा जोड दिए।

‘राजनीतिक अस्थिरता जनताका लागि असह्य’

विप्लवले सरकार पटक–पटक ढल्ने अवस्थाका कारण देशमा आर्थिक भार बढेको बताए। उनले भने, “हामीले तिरेको करको लाभ सानो समूहले मात्र लिइरहेको छ, जनताले भने सधैं समस्यामै पिरोलिनुपरेको छ। सरकार ढल्नेबित्तिकै प्रदेश सरकार पनि अस्थिर हुने अवस्थाले विकास अवरुद्ध भएको छ। यस्तो अवस्था अब अन्त्य गर्नुपर्छ।”

उनले स्थिर राजनीतिक प्रणालीको खोजी आवश्यक रहेको बताउँदै पाँच वर्षसम्म एउटै सरकार टिक्ने संरचना आवश्यक रहेको धारणा राखे। उनका अनुसार, अस्थिर राजनीतिक प्रणालीले देशको विकास अवरुद्ध गर्नुका साथै जनतालाई निराश बनाएको छ।

नयाँ प्रणालीको खोजी

नेपालको राजनीतिक भविष्यलाई सुनिश्चित गर्न नयाँ शासकीय स्वरूपबारे बहस आवश्यक रहेको उनको भनाइ छ। “अब नयाँ ढंगले सोच्ने बेला आएको छ। स्थिरता नभएसम्म देश समृद्ध हुन सक्दैन,“ उनले जोड दिए।

नेपालमा स्थायित्व कायम गर्न विभिन्न मोडेल अपनाउन सकिन्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संसदीय प्रणालीमा सुधार, वा दलफेर्न नपाइने कानुनी व्यवस्था जस्ता विकल्पहरूमाथि बहस आवश्यक देखिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)