Aamsanchar

आज विश्व धूमपानरहित दिवस

Author Image
बुधवार, जेठ १७, २०७४

काठमाडौँ ।

विश्वमा सुर्तीजन्य पदार्थबाटै वर्षेनि ७० लाख मानिसको मृत्यु भए पनि त्यसको नियन्त्रणतर्फ ध्यान जान सकेको छैन । सुर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हँुदाहँुदै पनि मानिसले  सुर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले  वार्षिक ७० लाख मानिसको  मृत्यु धूमपानबाटै भइरहेको छ ।

नेपालमा पनि सूर्तीजन्य पदार्थको कारणबाट वार्षिक २५ हजार मानिस मर्ने आकलन छ ।  नेपालमा नसर्ने रोगको तथ्याङ्क ४२ प्रतिशत हुँदा धूमपानबाटै वर्षेनि १५ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले २५ हजार नेपालीको मृत्यु हुने गरेको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले सुर्तीजन्य पदार्थबाट क्यान्सर, दम, हृदयरोगलगायतको समस्या निम्तिनसक्नुका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पु¥याउनुपर्ने जरुरी भएको बताउनुभयो ।  निर्देशक खड्काले सूर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिब ४२ जना र प्रतिघण्टा दुई नेपालीको मृत्यु हुने गरेको बताउनुभयो ।  विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेको सङ्ख्या एक अर्ब ३० करोडभन्दा बढी भएको अनुमान छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले  सूर्तीजन्य पदार्थको कारणले नसर्ने रोग बढाइरहेको बताउनुभयो ।  उहाँले धूमपानविरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने भन्दै कहिलेकाहीँ चुरोट सेवन गर्ने मानिसलाई पनि हृदयघातको समस्या हुने जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ ।  विश्व स्वास्थ्य सङ्गठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ ।  यसमध्ये ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ ।   नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सुर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ ।
सूर्तीजन्य नियन्त्रण अभियानमा काम गर्दै आएको संस्था एक्सन नेपालका प्रमुख आनन्दबहादुर चन्दले नेपालमा सुर्तीजन्य पदार्थमा चालिएका अभियानहरू सकारात्मक भए पनि कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो ।  उहाँले सुर्तीजन्य पदार्थसम्बन्धी ऐनहरू प्रभावकारी रहेको भन्दै कार्यान्वयन पक्ष कमजोर रहेको जानकारी दिनुभयो ।
यसैबीच मङ्गलबार विश्व धूमपानरहित दिवसको अवसरमा एक्सन नेपाल र नेपाली हेल्थले  संयुक्त रूपमा  आयोजना गरेको ‘विकासका लागि सुर्तीजन्य पदार्थ बाधक विषयक अन्तत्र्रिmया कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सुर्तीजन्य नियन्त्रणमा नेपालले ठूलो फड्को मारेको बताउनुभयो ।  जेष्ठ नागरिक, बालबालिका तथा समाज कल्याण विकास समितिका संयोजक रञ्जुकुमारी झाले नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै कामहरू भइरहेको बताउनुभयो ।

यसैबीच बुधबार विश्व धूमपानरहित दिवस मनाउन लागिएको छ ।  हरेक वर्ष मे ३१ तारिखमा  विश्व धूमपानरहित दिवस मनाउने गरिन्छ ।

Views: 153

प्रतिक्रिया (०)